सिलगढी: सिलगढीको मेथीबारीस्थित क्याफे दि ट्वीन्समा कमल गुरूङद्वारा लिखित ‘सम्झनाका तरेलीहरूमा’ निबन्ध सङ्ग्रह एक समारोहबीच लोकार्पण गरियो। विशिष्ट कवि-साहित्यकार ज्ञानेन्द्र खतिवड़ाको अध्यक्षता अनि प्रसिद्ध भाषा शास्त्री डा. सुभद्रा सुब्बा (दाहाल)-को प्रमुख आतिथ्यमा सम्पन्न यस समारोहमा विशिष्ट कवि मोहन ठकुरी, विशिष्ट कवि भविलाल लामिछाने, युग्मककार कालूसिंह रनपहेंली, कथाकार-चित्रकार सुवास छेत्री, हेमन्त काफ्ले, वरिष्ठ समाजसेवी पूर्ण मगर लगायत अन्यको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत भाषण कथाकार-चित्रकार सुवास छेत्रीले राखेका थिए। कृतिकार कमल गुरूङले लोकार्पण हुन लागेका आफ्नो कृतिमाथि परिचायक सम्भाषण राखे। तिनले कृति लेखन र कृतिभित्रका रचनाहरू सृजना क्रमका परिस्थिति र अनुभूतिका सन्दर्भहरूसितै कृति प्रकाशन गर्दा बटुलेका अनुभवहरू साझा गरे। यस अवसरमा मुख्य अतिथि डा. सुभद्रा सुब्बा (दाहाल)-ले कमल गरूङका लेखनको चर्चा गर्दै भनिन्- “लेखकको निम्ति पाठक महान हुन्छन्, लेखकले लेखेका कुराहरू पाठकले पढ़िदिए भने नै लेखकको कृतिको अर्थ र मूल्य हुँदछ। मुख्य अतिथिको बाहुलीबाट समारोह अध्यक्ष कृतिकार अनि विशिष्ट साहित्यकारहरूको उपस्थितिमा पुस्तक लोकार्पण गरियो। सभाध्यक्ष कवि-साहित्यकार ज्ञानेन्द्र खतिवड़ाले सभाध्यक्षको सम्बोधनमा नेपाली साहित्यमा आज एउटा नयाँ अनि ठोस निबन्ध सङ्ग्रह जोड़िन आइपुगेकोमा खुशी व्यक्त गरे। कवि मोहन ठकुरीले यस अवसरमा आफ्नो छोटो सम्भाषणमा लेखक कमल गुरूङसितको पुरानो परिचयबारे रोचक कुराहरू राखे।
