नाम्ची: सिक्किमका युवा कवि शिमियोन सुकिताको दुईवटा कविता संग्रह ‘चुपचाप छौं तिमी‘ र ‘जानेहरू‘-को आज लोकार्पण गरियो। दक्षिण सिक्किमको नाम्चीस्थित जिल्ला पञ्चायत कार्यालयमा सम्पन्न लोकार्पण कार्यक्रममा सभाध्यक्षको रूपमा वरिष्ठ साहित्यकार थिरुप्रसाद नेपाल, प्रमुख अतिथि सिक्किम विश्व विद्यालयका प्रोफेसर बलराम पाण्डे उपस्थित थिए। एल्डर ध्रुव सुब्बाको प्रार्थनाद्वारा थालिएको उक्त कार्यक्रमलाई स्रष्टा सिलाश राईले सञ्चालन गरेका थिए। कार्यक्रममा कवि शिमियोन सुकिताको परिचय इम्मानुएल गिफ्टले राखेका थिए। यसै कार्यक्रममा सभाध्यक्ष थिरुप्रसाद नेपाल, प्रमुख अतिथि प्राध्यापक बलराम पाण्डे, कवि शिमियोन सुकिता र उनको पिता, विशिष्ट अतिथिहरू क्रमैले क्यामुना प्रधान, दक्षिण सिक्किम साहित्य सम्मेलनको सभापति डा. नयन राई, लाक्पा ग्याल्पो शेर्पा, गणेशचन्द्र दाहाल, सोनाम भोटिया, सुरेश सुब्बा आदिको बाहुलीबाट लोकार्पण गरियो। कार्यक्रममा क्यामुना प्रधान र स्तुति छेत्रीद्वारा कविता वाचन तथा विद्यार्थीहरूद्वारा समूह नृत्य प्रस्तुत गरिएको थियो। कवि शिमियोनको कवि परिचय स्रष्टा इम्मानुएल गिफ्टले राखेका थिए भने कृतिकार कवि शिमियोन सुकिता राईले आफ्नो सम्बोधनमा कविता संग्रहहरू प्रकाशित गर्न सहयोग गर्नेहरू सबैप्रति आभार प्रकट गरे। कार्यक्रममा चुपचाप छौं तिमी कविता संग्रहमाथि खरसाङका कवि एवम् पत्रकार हनोक थापाले समीक्षात्मक टिप्पणी राखे भने प्रेम कविता संग्रह ‘जानेहरू’-माथि सिटोङका सन्ध्या आचार्यले समीक्षात्मक टिप्पणी राखिन्। कार्यक्रममा कवि शिमियोनको तर्फबाट अतिथिहरूलाई स्मृति चिन्ह्र प्रदान गरेर सम्मान जनाइयो।
