खरसाङ : खस विकास एवम् सांस्कृतिक संरक्षण समितिको सभामा आज खरसाङ महकुमा समिति गठन गरिएको छ। खरसाङमा आज खस विकास एवं सांस्कृतिक संरक्षण समिति केन्द्रीय समितिको सभापति एवम् पश्चिम बंगाल खस विकास अनि सांस्कृतिक बोर्डका भाइस चेयरम्यान अन्ते सन्यासीको अध्यक्षतामा सम्पन्न सभा गरियो। उक्त सभामा नै खस विकास एवम् सांस्कृतिक संरक्षण खरसाङ महकुमा समिति गठन गरिएको छ। उक्त महकुमा समितिमा सभापति राजेन्द्र राजपुत, उपाध्यक्ष मनोज छेत्री र बन्दना रावत, महासचिव बासु कोइराला, सहसचिव मदन छेत्री, कोषाध्यक्ष अर्चना छेत्री लगायत 21 जनाको कार्यकारी समिति गठन गरिएको छ। आजको सभामा विशिष्ट अतिथिको रुपमा बोर्ड सदस्याद्वय सबिता कार्की र बन्दना रावत विशेष रूपमा उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै खस विकास एवम् सांस्कृतिक संरक्षण समितिको केन्द्रीय सभापति तथा विकास बोर्डका भाइस चेयरम्यान अन्ते सन्यासीले आज खस विकास एवम् संरक्षण समितिको एक सभा बसेर खरसाङ महकुमा समिति गठन गरिएको जानकारी दिएका छन्। तिनले यो संरक्षण समितिको मुख्य उद्देश्य खस जातिको विकास र संस्कृतिको संरक्षण गर्नु साथै खसहरूको घरहरू निर्माण गरिनु र विकास गरेर लैजानु अनि विकासको लक्ष्य लिएर संगठनलाई अघि लगेर जाने रहेको पनि बताए। सन्यासीले हाम्रो मूल लक्ष्य खस जातिको सर्वाङ्गीण विकासको लागि अघि बढ़ेर कार्यहरू गर्नु रहेको पनि बताए।