सुकेपोखरी : खस जनजाति संघ रङ्गबुल शाखाको साधारण सभा कोठी डाँड़ा सार्वजनिक भवनमा सभापति लक्ष्मण ठकुरीको अध्यक्षतामा सम्पन्न भयो। आनन्द छेत्रीले सञ्चालन गरेको सभामा कोरोना महामारीले गर्दा संघको वर्तमान अवस्था केही शिथिल रहेकोले अबउसो प्रत्येक सदस्य सक्रिय भएर संघलाई अघि बढाउनेबारे चर्चा-परिचर्चा गरियो। ओबीसी-बारे पूर्व अध्यक्ष दीपक छेत्रीले प्रकाश पारे। सभामा शाखा समितिलाई दुर्बल हुन नदिने साथै यसको लागि सबै सदस्यहरू एक भएर अघि आउनु आवश्यक रहेको पूर्व सह-सचिव राजु छेत्रीले बताए। तिनले संघको रहल रकमहरू पनि संग्रह गरिनुपर्ने बारे विशेष जोड़ दिए। सभाको मुख्य विषय रङ्गबुल साइडिङ निवासी किशोर आचार्यको राजीनामालाई लिएर उपस्थित सबै सदस्यहरूको परामर्श र सहमतिमा तिनलाई साधारण सदस्यता प्रदान गरियो। उक्त सभामा शाखाका गौरव डाक्टर गोकुल सिन्हाले बहुमूल्य सुझाउहरू दिए।