सिलगढी : राज्यभरिमा झैँ यता सिलगढीमा पनि खेला होबे दिवस पालन गरियो। पश्चिमबंग सरकारको क्रीड़ा एवम् युवा कल्याण विभागको पहलमा सिलगढी नगरनिगमको व्यवस्थापनमा देशबन्धुपाडा तराई तारापद आदर्श विद्यालय मैदानमा खेला होबे दिवस पालन गरियो। यस अवसरमा इन्टर कोचिङ क्याम्प फुटबल प्रतियोगिताको आयोजना गरियो। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले फुटबल हिर्काएपछि कार्यक्रमको उद्घाटन गरे। यसको साथै कार्यक्रमको माध्यमद्वारा सिलगढी नगरनिगमको विभिन्न कार्यको खतियानको रूपमा ‘पूर वार्ता’ नाम गरेको एउटा पुस्तकको तिनले विमोचन गरे। यसबाहेक सहरका केही पूर्व फुटबलरहरूलाई सम्मान पनि जनाइयो।
उक्त फुटबल प्रतियोगितामा सिलगढी नगरनिगमको 25, 26, 27, 28, 29 र 30 नम्बर वार्डको विभिन्न कोचिङ क्याम्पका टोलीले अंश ग्रहण गरेको छ। यसबाहेक नगरनिगम तथा भेटरेन्स प्लेयर्स एसोसिएसनमाझ एउटा मैत्री फुटबल खेलको पनि आयोजना गरियो। यस अवसरमा गौतम देवले आज बङ्गालभरिमै आज खेला होबे दिवस पालन गरिरहेको छ। खेलको माध्यमद्वारा टीमको गति, एकता र सद्भावको निर्माण हुने भएकोले गर्दा नै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले खेललाई चुनेको तिनले बताए। आजको कार्यक्रममा सिलगढी नगरनिगमका प्रशासक गौतम देव, नगरनिगम प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार, पुलिस कमिश्नर गौरभ शर्मा लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।