कोलकाता भ्रमण समाप्त गरेर फर्किए बिमल गुरूङको टोली

सिलगढी : कोलकातामा राज्यका विभिन्न विभागीय मन्त्रीहरू लगायत प्रशासनिक उच्च पदाधिकारीहरूसित भेट गरेपछि गोजमुमोको प्रतिनिधि टोली आज दार्जिलिङ फर्किए। गोजमुमो अध्यक्ष बिमल गुरूङ लगायत प्रतिनिधि टोलीका अन्य सदस्यहरू आज बिहान ट्रेनमार्फत् न्यु जलपाईगढी रेलवे स्टेशन आइपुगे। यस अवधि पत्रकारहरूलाई सम्बोधन गर्दै बिमल गुरूङले भने, गोजमुमोको 6 सदस्यीय टोली 15 दिने कोलकाता भ्रमणमा गएका थियौँ। उक्त भ्रमण अवधि गोजमुमो टोलीले राज्य सरकारको विभिन्न विभागका मन्त्रीहरू लगायत विभागीय शीर्ष अधिकारीहरूसित भेट गरेर पहाड, तराई र डुवर्सको विविध समस्याहरूबारे चर्चा परिचर्चा गर्नको साथै ज्ञापन पत्रहरू पनि चढाए। यसको साथै पहाड़, तराई र डुवर्सको दीर्घकालीन राजनैतिक समस्या समाधान गर्न कमिटी गठन गरिनुपर्ने विषयमा पनि चर्चा परिचर्चा गरिएको तिनले बताए। कोलकाताको 15 दिने भ्रमण फलप्रद रहेको तिनले दावी गरे। कोलकाता भ्रमणमा जान अगावै तिनले मुख्यमन्त्री ममता ब्यानर्जीसित भेट गर्नको लागि पत्राचार समेत गरेको तर मुख्यमन्त्रीको अति व्यस्तताले गर्दा तिनी राज्यदेखि बाहिर रहेकोले भेट गर्न नपाएको तिनले बताए।


तथापि, मुख्यमन्त्रीकै निर्देशअनुसार अखिल भारतीय तृणमूल कङ्ग्रेसका महासचिव अभिषेक ब्यानर्जीसित आफूले भेट गरेर पहाड़, तराई र डुवर्सको स्थायी राजनैतिक समस्या समाधानको बारेमा चर्चा परिचर्चा गर्नको साथै यसको निम्ति कमिटी गठन गरिदिने अपील गरेको बिमल गुरूङले बताए। मुख्यमन्त्री ममता ब्यानर्जीको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै गुरूङले भने, हाल दिदी प्र्याक्टिकल छिन्। तिनले हाल विभिन्न राम्रा-राम्रा परियोजनाहरू राज्यवासीको निम्ति कार्यान्वित गरिरहेकी छन्। तिनलाई अब केन्द्रीय स्तरमा गएको म पनि हेर्न चाहन्छु त्यसैले आउँदो 2024-को चुनाउमा हामी सबैले मिलेर दिदीलाई सहयोग पुर्‍याउनुपर्छ। स्मरण रहोस्, 15 दिनको कोलकाता भ्रमणपछि दार्जिलिङ फर्किने क्रममा आज बिहान एनजेपीमा बिमल गुरूङ लगायत प्रतिनिधि टोलीका सदस्यहरूलाई स्वागत जनाउन एनजेपी रेलवे स्टेसन परिसरमा तराई, डुवर्स तथा पहाडका गोजमुमो पार्टी समर्थकहरू धेरै संख्यामा भेला भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *