खरसाङ : खरसाङकी छोरी आकी थामीद्वारा मुम्बईमा शुरु गरिएको सिस्टर लाईब्रेरी यसपाली नर्थ ईस्टको विभिन्न क्षेत्रहरू हुँदै अहिले खरसाङमा राखिएको छ। नारीवादमाथि लेखिएको विभिन्न पुस्तकहरू प्रदर्शन गरेर नारीवादमाथि चासो राख्नेहरू र नारी लेखन साथै नारीवादमाथि काम गर्नेहरूको लागि खरसाङमा पनि चार दिवसीय रुपमा सिस्टर लाइब्रेरीद्वारा पुस्तकहरू प्रदर्शनीमा राखिएको थियो। गत 28 फरवरीदेखि खरसाङको नयाँ बजारस्थित डाउन टाउन क्याफेमा शुरु गरिएको सिस्टर लाइब्रेरी आजसम्म सञ्चालन गरियो। खरसाङको स्रष्टा बालकृष्ण थामीकी छोरी आकी थामीले मुम्बईमा शुरु गरेको यो सिस्टर लाईब्रेरी नर्थ ईस्टको विभिन्न स्थानहरू असम, शिलङ हुँदै अहिले खरसाङमा राखिएको छ। यस सिस्टर लाइब्रेरीमा नारीवादमाथि लेखिएका पुस्तकहरू क्याँफेमा बसेर अध्ययन गर्न सकिने प्रावधान राखिएकोले चारै दिन मानिसहरू आएर अध्ययन गरिरहेको जानकारी प्राप्त भएको छ।

पहिलो दिन ओपेन माइक सेशन गरी 15 जना युवाहरूले कथा, कविता पठन गर्नुको साथै गीतहरू पनि प्रस्तुत गरिएको थियो। यस कार्यक्रमलाई संस्कृति थामीले सञ्चालन गरेकी थिइन्। यसको साथै नारीवादमाथि लेखिएका पुस्तकहरू पनि मानिसहरूले पढ़े। त्यसरी नै दोस्रो दिन र तेस्रो दिन पनि मानिसहरू आएर नारीवादमाथि लेखिएका पुस्तकहरु पढ़दै नारीवाद र नारीहरूको विभिन्न विषयमा सचेतनासहित कुराकानी गरिएको जानकारी प्राप्त भएको छ। यसावधि भाषा, साहित्य, राजनीति लगायत विभिन्न विषयहरू जस्तै, सम्बन्ध, मोलेस्टेशन, अब्युस, मासिक धर्म इत्यादि विषयमा पनि चर्चा गरिएको बताइएको छ। आज अन्तिम दिन आर्टिस्ट टकको आयोजना गरियो। यस सिस्टर लाइब्रेरी खरसाङमा राखिएको विषयमा बोल्दै आकी थामीकी बहिनी संस्कृति थामीले खरसाङमा गत 28 फरवरीदेखि शुरु भएर 3 मार्चसम्म चलेको र यो सिस्टर लाइब्रेरी मुम्बईमा शुरु गरिएको र खरसाङमा आफ्नै ठाउँ भएकोले नारीवादमाथि सचेतना गर्नलाई यहाँ पनि राखिएको अनि यहाँबाट सिक्किम हुँदै नर्थ ईस्टको विभिन्न क्षेत्रमा लगिने बताइन्।
