खरसाङको घुम्ती चियाबारी बन्द, चिया श्रमिकहरूले गरे युनियनसित बैठक

खरसाङ : खरसाङ महकुमा अन्तर्गत पर्ने घुम्ती चियाबारी बन्द भएको छ। कमानमा श्रमिकहरूको लागि प्रदान गरिने दाउराको पैसा नपाएपछि उत्पन्न भएको समस्याले गर्दा प्रबन्धन पक्षले नोटिस टाँसेर बगान बन्द गरिएको घोषणा गरेको छ। प्राप्त जानकारी अनुसार घुम्ती चियाबारीमा श्रमिकहरूलाई प्रदान गरिने दाउराको पैसा अन्तर्गत प्रत्येकले 8 दिनको छुट्टी पाउने अथवा 8 दिनकै पैसा पाउने गर्थ्यो। तर यसपाली कम्पनीले दाउराको पैसा स्वरुप 1 दिनको 45 रुपियाँ गरेर प्रदान गरिने बताएपछि यसलाई लिएर प्रबन्धन पक्ष र चियाबारी श्रमिकहरूमा झमेला उत्पन्न भएको बताइएको छ। गत 3-4 मार्चदेखि नै श्रमिकहरूले दाउराको पैसा नपाएसम्म सिजनको पहिलो पत्ती टिपाई नै नगर्ने भनिरहेका थिए भने 5 मार्चको बिहान मेलोमा जान अघि श्रमिकहरूले प्रबन्धन पक्षलाई घेराउ गरेको साथै घुम्ती कमानको कारखाना अघि प्रबन्धक पक्ष र श्रमिकहरूमाझ भनाभैरी हुँदा ठुलै समस्या सिर्जना भएपछि गत 5 मार्च शनिबार राति 9 बजेतिर प्रबन्धन पक्षले कमानमा प्रबन्धन पक्षलाई असुरक्षित महसुस भएको र जबसम्म शान्ति हुँदैन अनि जबसम्म सुरक्षित माहौल सिर्जना हुँदैन तबसम्म बगान बन्द गरिएको भन्ने लेखेर प्रबन्धन पक्षले नोटिस टाँसेको जानकारी प्राप्त भएको छ।


कारखानामा टाँसिएको नोटिसको प्रतिलिपि जिल्ला शासक, जिल्ला पुलिस अधीक्षक, खरसाङ महकुमा शासक, महकुमा पुलिस अधिकारी, खरसाङ पुलिस थानाको आईसी, आरपीएफसी सिलगढी, खण्ड विकास अधिकारी, सहायक श्रम आयुक्त खरसाङ, सभापति – हिल तराई डुवर्स प्लान्टेशन वर्कर युनियन केन्द्रीय समिति र सभापति – एचपीडब्ल्युयुको केन्द्रीय समितिलाई पठाइएको नोटिसमा उल्लेख गरिएको छ। यसै विषयलाई लिएर हिजो घुम्ती चियाबारीमा श्रमिकहरूले युनियनसित सभा गरेका छन् भने यस विषयमा कुनै पनि युनियनका प्रतिनिधिहरूले पत्रकारहरूसित कुराकानी गर्न अस्वीकार गरे। अर्कोतिर, घुम्ती कमानको प्रबन्धक डीके मिश्रसित फोनमार्फथ् सम्पर्क गर्दा सम्पर्क नै हुन सकेन। बगान बन्द भएको विषयमा घुम्ती चियाबारीका श्रमिकहरूले विगत 2008 देखि श्रमिकहरूलाई वर्षमा 8 दिन छुट्टी गरेर दिँदै आएको दाउराको पैसा जसरी पनि दिनुपर्छ भनी बताएका छन्। श्रमिकहरूले यसपाली दाउराको पैसा एक दिनको केवल 45 रुपियाँ मात्र गरेर दिन्छु भनेकोले हामीले विरोध गरेका हौं भनी तिनले बताए। स्मरण रहोस्, सन् 1899 सालमा शुरू गरिएको खरसाङ महकुमा अन्तर्गत पर्ने घुम्ती चियाबारी विगत 5-6 महिनादेखि नयाँ कम्पनीले लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *