खरसाङ (निसं): खरसाङको मन्टिभियट खेल मैदान नजिक रहेको जे चुन डोल्मा लाखाङमा तीन दिवसीय वार्षिक डोल्मा पुजा सम्पन्न भयो। स्मरण रहोस् खरसाङमा ग्रीनतारा डोल्माको केवल एउटा मात्रै भएको उक्त लाखाङमा ग्रीन तारा र डोल्मा अनि डोल्माका ताराहरूको पुजा अर्चना गरियो। लाखाङको प्रमुख लामाला पाल्देन र सोनादाबाट आएका कुसेला लामालाहरूद्वारा गरिएको उक्त तीन दिवसीय पूजाको अन्तिम दिन लामा प्रमुख पाल्देन लामाले ग्रीन तारा डोल्माको महत्वबारे बताएका थिए। उक्त प्रवचनपछि सम्पूर्ण भक्तजन र आनिलाहरूलाई वाङ वितरण गरियो। उक्त पुजा विश्व शान्ति समृध्दि र सुखको लागि गरियो भने विशेष गरी प्राकृतिक प्रकोपमा पररे ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै म्हाने म्होलम गरियो। यस डोल्मा पुजामा सहयोग गरी सफलतापूर्वक सम्पन्न गरेकोमा सबै सहयोगीहरू र झिन्दाहरूप्रति लामाला प्रमुख पाल्देनजी र आनीहरूबाट थुजुचे धन्यवाद ज्ञापन गरियो भने भविष्यमा पनि सहयोगको आशा गरिएको छ भनी जे चुन डोल्मा लाखाङको सचिव आनी रिंकी पाख्रीन लामाले जानकारी गराएकी छन्। उल्लेखनीय छ खरसाङमा जे चुन डोल्मा लाखाङ लामाला प्रमुख कुसेलाहरू र आनीहरूद्वारा सञ्चालन भइरहेको छ। उक्त जे चुन डोल्मा लाखाङ विगत चार वर्षदेखि भाडाको घरमा सञ्चालित भइरहेको छ र सबैले सहयोग पनि गरिरहेका छन्। तर पनि यहाँ धेरै कुराको असुविधा भइरहेको कारणले यहाँ गुम्बा निर्माण गर्न सकिए राम्रो हुने पनि बताइएको छ।