खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत लङ्भ्यू चियाबारीमा कार्यरत श्रमिकहरूको विभिन्न समस्याको समाधान आजसम्म हुन नसकेकोले गर्दा त्यहाँका श्रमिकहरूले धेरै दु:ख पाइरहेका छन्। यसैलाई मध्यनजर राखेर पंखाबारी अम्बटे लङ्गभ्यू समष्टिका कार्यकारी सभासद कल्पना प्रधानले आज चियाबगानका कार्यकारी निर्देशक साथै चियाबगान प्रबन्धकसित भेट गरिन्। तिनले आजको भेट मुख्य रुपले चियाबगानबाट अवकाश ग्रहण गरिसकेका कर्मचारीहरुका कर्मचारी सञ्चय कोश (ईपीएफ) साथै उपदान (ग्रेजेटी) बारे जानकारी लिइन्। यसबारे तिनले बगान कर्तृपक्षलाई श्रमिकहरूको समस्याको चाँड़ो समाधान गरिदिने आग्रह गरिन्। भेट गर्न गएका प्रतिनिधि टोलीमा भागोप्रमो पंखाबारी अम्बटे लङ्गभ्यू समष्टिका सभापति मणिराज डुम्जन साथै हिल तराई डुवर्स प्लान्टेशन वर्कस युनिय लङ्गभ्यू शाखाका पदाधिकारीहरू उपस्थित थिए।