खरसाङ (निसं): खरसाङमा पाद्री गङ्गाप्रसाद प्रधानको 172औँ जन्म जयन्ती पालन गरियो। खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा गत केही महिना अघि अनावरण गरिएको पाद्री गङ्गाप्रसाद प्रधानको सालिगमा गोर्खा जनपुस्ताकालय र पाद्री गंगाप्रसाद प्रधान प्रतिष्ठानको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भयो। पुस्तकालयका अध्यक्ष पूर्ण गुरुङ निरुपमको अध्यक्षता र वरिष्ठ साहित्यकार सलोन कार्थकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पाद्री गङ्गाप्रसाद प्रधानको सालिगमा अध्यक्ष, प्रमुख अतिथि र अन्य अतिथिहरूद्वारा धुप दीप प्रज्ज्वलन साथै खदार्पण गरेर पाद्री गङ्गाप्रसाद प्रधानलाई श्रद्धाञ्जलि अर्पण गरियो। पुस्तकालयको उपाध्यक्ष प्रकाश प्रधानले सञ्चालन गरेको कार्यक्रममा राजीव थापाले स्वागत सम्भाषण राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार सलोन कार्थकले खरसाङको पहलमा पाद्रीको सालिग अनावर गरिएको कुरामा खुशी व्यक्त गर्दै पाद्री गङ्गाप्रसाद ओझेलबाट उज्यालोमा आएको बताए। तिनले आफू कलेज पढ्दादेखि नै पाद्री गङ्गाप्रसाद प्रधानको चर्चा सुनेको र पाद्रीमाथि जिज्ञासा उत्पन्न भएको र काठमाडौँमा हुँदा मदन पुस्ताकालयमा पाद्री गङ्गाप्रसाद प्रधानद्वारा सम्पादित ‘गोर्खे खबर कागत्‘-को 18 वटा प्रति प्राप्त भएको र तिनी पत्रकार थिए भन्ने बुझेको बताए।
सलोन कार्थकले आफूले सन् 2001-मा नै पाद्री गङ्गाप्रसाद प्रधानको जीवनी विषय लिएर ‘ पाद्री गङ्गाप्रसाद प्रधानको जीवन बखान‘ नामक पुस्तक प्रकाशन गरेको र त्यस कृतिलाई धेरैले मन पराएको अनि विस्तारै पाद्री गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती पालन हुन थालेको बताए। तिनले अहिले भारतभरि विभिन्न स्थानहरूमा पाद्री गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती पालन गर्ने गरेको बताउँदै खरसाङको पहलमा पाद्रीको सालिग अनावर गरिएको कुरामा खुशी व्यक्त गरे। तिनले अब पाद्री गङ्गाप्रसाद प्रधान ओझेलबाट उज्यालोमा आएको छ भनी बताउँदै पाद्री गङ्गाप्रसाद प्रधान विषयमा अझ विद्वानहरूले सटीक कार्य गर्ने र पाद्रीको व्यक्तित्व अघि आउनेछ भनी आशा व्यक्त गरेका छन्। कार्यक्रममा खरसाङका गण्यमान्य व्यक्तिहरू, गोर्खा जनपुस्ताकालय खरसाङको पदाधिकारीहरू र पाद्री गंगाप्रसाद प्रधान प्रतिष्ठानबाट संयोजकद्वय राजीव सुब्बा र हनोक थापा पनि उपस्थित थिए। पाद्री गङ्गाप्रसाद प्रधानको उत्तरार्द्धको कार्यक्रम अपरान्ह्र खरसाङको गोर्खा जनपुस्ताकालय भवनमा सम्पन्न हुने भएको छ।