खरसाङ (निसं): खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आज खरसाङ खण्डको पञ्चायत समितिको आधिकारिक रूपमा बोर्ड गठन गरेको छ। बोर्ड गठन साथै शपथ ग्रहणको लागि खरसाङ महकुमा शासक कार्यालयमा जान अघि खरसाङको मोटर स्ट्याण्डमा पार्टी अध्यक्ष अनित थापाले सबै पञ्चायत समितिका 23 जना सदस्यहरूलाई खदार्पण गरेर बधाई तथा शुभकामना दिए। यसपछि मोटर स्ट्याण्डबाट भागोप्रमो-का 23 जना पञ्चायत समितिका सदस्यहरूको साथमा रैली निकालेर पंखाबारी रोड हुँदै खरसाङ महकुमा शासक कार्यालय पुगेर बोर्ड गठन गर्नको साथै शपथ ग्रहण समारोह सम्पन्न गरियो। खरसाङ पञ्चायत समितिको 31 वटा सिटहरूमध्ये भागोप्रमो-ले 23 वटा सिट जितेर सजिलै बोर्ड गठन गरेको छ। खरसाङ खण्डको पञ्चायत समितिको बोर्डमा अनु छेत्री प्रधान सभापति चयन भएका छन् भने उप सभापति पदमा नारायण थापा चयन भएका छन्।
खरसाङ महकुमा शासक कार्यालयमा शपथ ग्रहण समारोह हुन अघि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ खण्डको पञ्चायत समितिका सभापति अनु छेत्री प्रधानले धेरै सालपछि दुई स्तरीय पञ्चायत चुनाउ भएकोले धेरै समस्याहरू छन् जुन विस्तारै समाधान गर्दै जाने बताएकी छन्। उनले आफु नारी शक्तिको केन्द्रीय अध्यक्षा भएकोले पार्टी र जनताको लागि सेवा गर्नलाई समयको तालमेल मिलाएर काम गर्ने बताएकी छन्। त्यसरी नै उप सभापति नारायण थापाले भर्खर बोर्ड गठन भएको छ र अब विस्तारै सबै मिलेर खरसाङ खण्डको 14 वटै ग्राम पञ्चायतहरूका समस्या समाधानको लागि विस्तारै मिलेर काम गर्दै जाने बताएका छन्। बिहान खरसाङको मोटर स्ट्याण्डबाट विजय रैलीसहित 23 जना पञ्चायत समितिका सदस्यहरू र पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा रैली निकालिइएको थियो। खरसाङ महकुमा शासक कार्यालयमा पुगेर बोर्ड गठन साथै शपथ ग्रहण समारोहपछि पुन: विजय जुलूसको साथमा पंखाबारी रोड हुँदै मोटर स्ट्याण्डमा आएर विजय उत्सव सभामा परिणत भएको थियो।