खरसाङ (निसं) : सिक्किम दार्जिलिङ एकीकरण मञ्चको सभा आज खरसाङमा सम्पन्न भयो। जीवन खातीको अध्यक्षतामा खरसाङको गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न उक्त सभाको शुरूमा सिक्किम एकीकरण मञ्चको शुभचिन्तक एवम् सल्लाहकार साथै भागोपका संस्थापक सदस्य डा. राजासिंह लिम्बुको निधनमा श्रद्धाञ्जलि अर्पण गर्दै मौन धारण गरियो। उक्त सभामा सिक्किम दार्जिलिङ एकीकरण मञ्चको सांगठनिक विस्तार खरसाङ क्षेत्रमा पनि गर्ने साथै सिक्किम दार्जिलिङ एकीकरण विषयमा जनतालाई बुझाउने विषयमा चर्चा परिचर्चा गरियो। मञ्चको सांगठनिक विस्तारलाई अघि लैजानलाई खरसाङ क्षेत्रको लागि शाखा कमिटी गठन गरिने साथै संयोजकहरू राखिने विषयमा पनि सभामा चर्चा गरियो। सभामा सिक्किम दार्जिलिङ एकीकरण मञ्चको लागि दुईजना संयोजकहरू चयन गरियो, जसमा सोनादाको लागि जीवन खाती अनि खरसाङको लागि प्रकाश प्रधानलाई चयन गरियो।
यी संयोजकहरूलाई आगामी केही दिनमा सभा बोलाएर खरसाङ ब्राञ्च कमिटी गठन गरिने जिम्मेवारी दिएको छ। उक्त सभामा सिक्किम दार्जिलिङ एकीकरण मञ्चका केन्द्रीय पदाधिकारीहरू क्रमैले उपाध्यक्ष बीके चामलिङ, महासचिव शंकरहाङ सुब्बा, प्रवक्ता अनुप राणा, सह सचिव जोहन राई, केन्द्रीय कार्यकारी सदस्य दावा लेप्चा लगायत खरसाङका प्रतिनिधिहरू पनि उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै सिक्किम दार्जिलिङ एकीकरण मञ्चको महासचिव शंकरहाङ सुब्बाले आज खरसाङमा मञ्चको सांगठनिक विस्तारलाई लिएर साथै खरसाङ शाखा कमिटी गठन र संयोजकहरू चयन विषयमा पनि सभा राखिएको जानकारी गराए। पत्रकारहरूले सोधेका विभिन्न प्रश्नहरूका उत्तर दिँदै तिनले भने, यो भूभाग सिक्किमको हो अनि हामी बंगालबाट छुट्टिन कुनै पनि व्यवस्थालाई सहमति जनाउँदछौं। बंगालबाट छुट्टिने गोर्खाल्याण्ड, केन्द्र शासित राज्यमा सहमत छौं तर बंगालभित्र नै रहने व्यवस्था जस्तै उत्तर बंगाल र अन्यमा सहमति नरहने पनि तिनले बताए।