खरसाङ: एक्सपो-को कार्यक्रमहरु हेर्नको निम्ति खरसाङको पार्क लोकेशनस्थित गोर्खा कम्युनिटी हलमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा पनि पुगेका थिए। खरसाङ नगरपालिकाको तत्वावधानमा करियर एक्सपो 2022 खरसाङको पार्क लोकेशनस्थित गोर्खा कम्युनिटी हलमा आयोजना भइरहेको छ भने उक्त एक्सपो-मा विद्यार्थीहरुलाई ग्रुप कन्सल्टेन्सी-ले काउन्सिलिङ दिए। यस अवसरमा उच्च अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई कुन विषय लिएर अनि कुन कलेजमा कसरी भर्ना गर्ने आदि विषयमा जानकारी दिए। यदि उच्च शिक्षाको निम्ति आर्थिक सहायता चाहिए कसरी शिक्षाको लोन (ऋण) लिनु सकिन्छ आदि विषयमा पनि विद्यार्थीहरूलाई जानकारी गराइयो।

अर्कोतिर, खरसाङ नगरपालिकाको उक्त पहललाई अनित थापाले खुबै प्रशंसा तथा सराहना गरेका छन्। तिनले भने, खरसाङ एउटा सानो जगह हो। सानो ठाउँ भएर नै यहाँ विद्यार्थी अनि युवाहरुले सही जानकारी, सही ठाँउबाट पाउनु सक्दैनन्। खरसाङ नगरपालिकाको यो पहल प्रशंसनीय छ। यो भन्दा अघि पनि नगरपालिकाले यस्तै कार्यक्रम 2019 मा सम्पन्न गरेको थियो। हाम्रो पहाडलाई समृद्ध बनाउन हामीलाई शिक्षित जमातको अत्यन्तै आवश्यक पर्दछ। शिक्षाले परिवार, समाजलाई समृद्ध तुल्याउँछ। हाम्रै शिक्षित युवाहरु यदि व्यवस्थापनमा पनि लाग्न सके पहाड झन छिटो अघि बढ्नु सक्छ भन्ने मेरो सोंच छ।
