खरसाङ: खरसाङमा आज पश्चिम बंगाल तामाङ बुद्धिष्ट जोइन्ट एक्सन कमिटीको एउटा सभा नरेन्द्र कुमार मोक्तानको सभापतित्वमा सम्पन्न भयो। सभामा तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राईलाई एउटा ज्ञापन दिइएको अवगत गराइयो। उक्त सभामा सम्पूर्ण तामाङ बुद्धिष्टहरूको एकतालाई देखाउन पहाड़का विभिन्न ठाउँमा चाँड़ै र्याली निकालिने जानकारी पनि गराइयो। विभिन्न क्षेत्रबाट उपस्थित सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा कालेबुङका प्रतिनिधि अमित डुम्जनले अघिका तामाङ संगठनहरूमा व्यापक घोटलाहरू भएको अवगत गराउँदै तामाङ विकास बोर्डमा पनि स्वयम् अध्यक्षबाट घोटला भएको आरोप लगाए। तिनले अब यस संगठन मार्फत् तामाङ बुद्धिष्टहरूको धेरै उन्नति भएर जाने बताउँदै विशेष गरेर युवाहरूलाई यस संगठनमा एकबद्ध भएर कार्य गर्ने आह्वान गरे।
