खरसाङ : खरसाङ टाउन टेलर युनियनका 25 परिवारले विभिन्न राजनैतिक पार्टीहरू त्यागेर गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्। गोजमुमो दार्जिलिङको सिंहमारीस्थित पार्टी कार्यालयमा तिनीहरूले आज पार्टी अध्यक्ष बिमल गुरूङलाई भेट गरेर खरसाङ टाउनको विविध समस्याहरूको बारेमा कुराकानी गरे। यस अवधि तिनीहरूले अध्यक्ष बिमल गुरूङकै छत्रछाँयामा बसेर आफूहरूले भोग्दै आइरहेको समस्याको समाधान निकाल्न सक्ने विश्वास व्यक्त गरे। अर्कोतिर, टेलर युनियनका सदस्यहरूसितको कुराकानीमा अध्यक्ष बिमल गुरूङले कुनै पनि ठाउँमा काम गर्नको निम्ति पहिला हाम्रो धराताल मजबुत बनाउनुपर्छ भनी बताए। तिनले अझ भने, मैले आफ्नो कार्याकालमा कहिले पनि अल्पसंख्यक अनि व्यवसायी समुदायलाई दुख दिने काम गरिन।

खरसाङ पर्यटन व्यवसायलाई प्रस्टाउन प्रोत्साहन दिनुपर्छ। त्यहाँ पर्यटकहरूलाई आकर्षित गराउने संसाधनहरूको विकास गर्नुपर्छ जसले गर्दा त्यहाँको सबै होटल, टेलर अनि व्यवसायी गरेर आय आर्जन गर्ने सबै व्यवसायी समुदायको आय स्रोत बढेर जाओस् भन्ने विषयलाई लिएर काम गर्नुपर्छ। अरूले जेसुकै भनोस् तर हामी जातिको, समाजको अनि क्षेत्रको विकास र उन्नतिको निम्ति काम गर्नेछौँ। तिनले यस अवधि विभिन्न पार्टी त्यागेर आफ्नो घरमा फर्किआएका सबैलाई अब सबै मिलेर काम गर्नुपर्ने बताए। यस अवसरमा खरसाङ टाउन कमिटी सचिव विकास तिरूवा, उपाध्यक्ष राजु सेवा, 12 नम्बर वार्ड सभापति गोपाल प्रधान, सचिव श्याम प्रधान लगायत धेरै संख्यामा उपस्थित थिए।
