बिजनबारी: बिजनबारी भेगका युवा सर्जक लेखनाथ छेत्रीको पहिलो उपन्यास ‘फुलाङ्गे’ नेपालको प्रतिष्ठित साहित्यिक पुरस्कारहरूमध्ये एउटा मदन पुरस्कारको सूचीमा छनौट गरिएको छ। गोर्खाल्यान्ड आन्दोलनलाई लक्षित गरेर लेखिएको उक्त पुस्तक मदन पुरस्कारको निम्ति अन्तिम नौ पुस्तकहरूको सूचीमा सामेल गरिएको छ। नेपालको प्रतिष्ठित साङ्ग्रिला प्रकाशनद्वारा प्रकाशित उक्त पुस्तकले नेपाली पाठकहरूमा निक्कै ख्याति कमाइसकेको पुस्तकहरूमध्ये एउटा पुस्तक हो।

उक्त पुस्तकको विमोचन काठमाडौँ तथा कालेबुङबाट गरिएको थियो। उक्त उपन्यासका लेखक लेखनाथ छेत्री बिजनबारी नजिकै रेलिङ निवासी हुन्। तिनले लेखेका दुईवटा चर्चित कविता संग्रहहरू ‘बाउको पसिना’ (2012) र ‘अक्षर अनप्लग्ड’ (2015) लगायत लेखक रवीस कुमारको पुस्तक ‘मुक्ति आवाज’ (2019) तथा उपान्यस ‘फुलाङ्गे’ सामेल छन्। तीमध्ये ‘फुलाङ्गे’ सबैभन्दा चर्चित पुस्तक हो।
