सोनादा: दार्जिलिङ जिल्लाको सोनादा क्षेत्र अन्तर्गत लोअर सिडर्समा सन् 1979 सालमा नै स्थापना भएको विद्या रत्न प्राथमिक पाठशालाले हालसम्म पनि सरकारी रूपमा मान्यता पाएको छैन। सन् 1979 देखि 2021 सम्म पहाड़मा विभिन्न राजनैतिक दलहरूले सत्ता सम्हाले अनि पहाड़मा विकासको व्यवस्था परिवर्तन भइरहे तापनि सुके पोखरी खण्ड अन्तर्गत पर्ने लोअर सिडर्सस्थित प्राथमिक पाठशालालाई न कुनै राजनैतिक पार्टीले मान्यता दिलाए न त कुनै व्यवस्थाले नै यसलाई मान्यता दियो। गाउँमा कुनै स्कुल नहुँदा गाउँलेहरूले मिलेर सन् 1979 मा निर्माण गरेको स्कुल अहिले पनि जस्तोको त्यस्तै अवस्थामा छ। परिवर्तन भयो भने केवल समय र व्यवस्था अनि सत्ता सम्हाल्ने चौकीमा बस्ने राजनैतिक दलहरूको मात्र तर पाठशाला भने जस्ताको त्यस्तै। अहिले पनि गाउँको त्यो एकमात्र स्कुलमा 40 जना विद्यार्थीहरू छन् तर स्कुलले भने अहिलेसम्म सरकारी मान्यता पाएको छैन। लोअर सिडर्स चियाबारी गाउँको नर्सरीदेखि चौथो श्रेणीसम्मका विद्यार्थीहरूले यहाँ पढ़ाई गरिरहेका छन् जसको अभिभावकहरू आर्थिक रूपमा सम्पन्न छैनन् अनि यहाँदेखि टाढा लगेर पढ़ाउन पनि असमर्थ छन्। पाठशालालाई सरकारी मान्यता दिलाउनको लागि त्यस समयदेखि हालसम्म पनि सम्बन्धित विभागहरूमा निवेदन गरे तापनि अहिलेसम्म कसैबाट पनि पहल गरिएको छैन। गाउँलेहरू र स्कुल सञ्चालन समितिले नै चलाइरहेको यस पाठशालामा गाउँका नानीहरूलाई हाल तीनजना शिक्षित युवाहरूले शिक्षा दिने काम गरिरहेका छन्। वर्तमान 21औँ शताब्दीमा शिक्षा जस्तो बहुमूल्य कुरालाई यस स्कुलले लगातार रूपमा अघि बढाइरहे तापनि हालसम्म यसमाथि कसैको नजर परेको छैन। यस स्कुलको योगदानलाई हेरेर न कुनै राजनैतिक नेता, न त कुनै सरकारी ओहोदाका व्यक्तिहरूले यस स्कुलको मान्यताको लागि चाँसो देखाएका छन्। पहाड़को अधिकजसो प्राथमिक पाठशालाहरूमा हाल विद्यार्थीहरूभन्दा शिक्षकहरूको संख्या नै अधिक रहेको छ भने लोअर सिडर्सको यो विद्या रत्न पाठशालामा हाल अध्ययनरत 40 जना विद्यार्थीहरूलाई केवल तीनजना शिक्षकले मात्र पढाउने कार्य गरिरहेका छन्।

यस स्कुलका स्थापकहरूमध्ये एकजना शान्तिमान राईले पत्रकारहरूसित कुराकानी गर्दै यो स्कुल सन् 1979 सालमै स्थापना गरेको भए तापनि हालसम्म सरकारी मान्यता नपाएको बताए। तिनले भने, हामीले त्यस समयदेखि नै सरकारी मान्यताको लागि लगातार रूपमा निवेदन गर्दै आएको तर अहिलेसम्म पनि स्कुलले भने मान्यता पाएको छैन। दागोपापको समय, त्यसपछि जीटीएको समयमा पनि स्कुललाई सरकारी मान्यताको लागि निवेदन गरेको भए तापनि केही भएन भन्दै तिनले गाउँलेहरूद्वारा अर्थ संग्रह गरेर पाठशालाको भवन निर्माण गरेको र अहिले पनि गाउँलेहरू र स्कुल सञ्चालन समितिले मिलेर चलाइरहेको जानकारी गराए। अर्कोतिर, पाठशालाको शिक्षक इन्चार्ज रमल राईले बताएअनुसार सन् 1979 मा स्थापना भएको उक्त पाठशालामा आफूले गत 2005 देखि लगातार रूपमा शिक्षकको रूपमा कार्य गरिरहेको बताए। नेताहरूले यो पाठशाला मान्यताको लागि केवल आश्वासन मात्रै दिए तर केही सहयोग नगरेको भन्दै तिनले दुखेसो पोखे। तिनले आउँदो वर्ष 2022 सम्म यो पाठशालाको लागि कुनै पनि राजनैतिक दल अथवा सरकार पक्षले स्कुलको नयाँ भवन निर्माण गरेर स्कुललाई सरकारी मान्यता दिनुपर्ने निवेदन गरेका छन्।
