खरसाङ: विगत दुई वर्षदेखि लगातार रूपमा कोरोनाको कारणले लकडाउनको मर्का झेलिरहेका विद्यार्थीहरूको लागि खरसाङको सन्त मेरिजमा रहेको बेथलेहेम चिल्ड्रेन होमद्वारा नि:शुल्क ट्युशनको व्यवस्था गरिने भएको छ। यसको साथै पहिलो श्रेणीदेखि पाँचौँ श्रेणीसम्मका विद्यार्थीहरूलाई नि:शुल्क ट्युशन पढ़ाउनलाई शिक्षक शिक्षिकाहरूको लागि पनि वेतनको व्यवस्था गरिने भएको छ। विगत 40 वर्षदेखि बेथलेहेम चिल्ड्रेन होमले नानीहरूलाई सेवा पुर्याउँदै आइरहेको छ भने सन् 2018 देखि यस चिल्ड्रेन होममा नानीहरू राख्न छोड़िएको छ तर अब स्थानीय नानीहरूको लागि नि:शुल्क ट्युशन पढ़ाउने निर्णय गरिएको बेथलेहेम चिल्ड्रेन होमकी प्रबन्धक प्रेमी मुरले बताइन्। तिनले कोरोनाको मार झेलिरहेका विद्यार्थीहरूलाई ट्युशन पढ़ाउने र यसमा शुरुमा पहिलो श्रेणीदेखि पाँचौँ श्रेणीसम्मका विद्यार्थीहरूलाई नि:शुल्क ट्युशन पढ़ाउने र ट्युशन पढ़ाउनलाई शिक्षक शिक्षिकाहरूलाई पनि वेतन दिने व्यवस्था गरिने भएको जानकारी दिएकी छन्। तिनले नि:शुल्क ट्युशनको लागि सन्त मेरिज हिल र वरिपरिको विद्यार्थीहरूका अभिभावकहरू साथै ट्युशन पढ़ाउन चाहने शिक्षितहरूले पनि सम्पर्क गर्न सक्ने बताइन्। यो नि:शुल्क ट्युशन खरसाङको सन्त मेरिजस्थित होली क्रस माथिल्लोपट्टि एवम् सन्त मेरिज हिलको समाज घर नजिक रहेको बेथलेहेम चिल्ड्रेन होमको भवनमा पढ़ाउने तिनले बताइन्।
