सिलगढी : सिलगढी नगरनिगमले यहाँको स्टेट गेस्ट हाउस संलग्न महानन्दा नदी नजिक एउटा श्मशान घाट निर्माण गर्ने परियोजना बनाएको छ। आज सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देव लगायत रञ्जन सरकार, अलोक चक्रवर्ती एवम् सिलगढी नगरनिगमका कमिश्नर सोनम वाङ्दी भुटियाले उक्त क्षेत्रको निरीक्षण गरे। यस अवसरमा गौतम देवले बताएअनुसार हाल साहुडाङ्गीको श्मशान घाटमा कोरोना संक्रमितहरूको दाह संस्कार गरिने भएकोले त्यहाँ निक्कै चाप सृष्टि भएको छ। यसैले महानन्दा नदी नजिक एउटा श्मशान घाट निर्माण गर्ने परियोजना रहेकोले आज यसको निरीक्षण गरिएको हो। सिलगढी सहरमा केवल किरणचन्द्र श्मशान घाट मात्र रहेकोले यहाँ अझै दुईवटा श्मशान घाटको आवश्यकता रहेको छ। अर्कोतिर, एउटै मात्र रहेको किरणचन्द्र श्मशान घाटमा मृतदेह जलाउनको लागि पनि केही असामाजिक व्यक्तिहरूले समस्या उत्पन्न गरिरहेकोले त्यसको समाधान गरिने तिनले बताए।