म जाति, माटो र क्षेत्रलाई लिएर कहिले पनि धोका दिँदिन: बिमल गुरुङ

दार्जिलिङ : “86-को आन्दोलनमा पहाड र तराईले भन्दा पनि डुवर्सले धेरै नै योगदान दिएको हुनसक्छ तर आन्दोलन पछि डुवर्सलाई कसरी सञ्चालन गरेर लानु पर्छ भन्ने कुरा नजान्दा डुवर्सलाई घिसिङले अनदेखा गरेको जस्तो लाग्दैछ।” गोजमुमो डुवर्स प्रतिनिधिहरुसँग आज दार्जिलिङको पात्लेबाँसस्थित पार्टी कार्यालयमा भएको सभामा गोजमुमो अध्यक्ष बिमल गुरुङले यस प्रकारको मन्तव्य व्यक्त गरेका हुन्। यस अवसरमा तिनले भने, म जाति, माटो र क्षेत्रलाई लिएर कहिले पनि धोका दिँदिन। डुवर्सलाई लिएर म विश्वासको आधारमा काम गर्नेछु र जुन कमिटी गठन गरिन्छ तिनीहरूले पनि विश्वासको आधारमा काम गर्नु पर्नेछ। म मात्रै कठोर भएर हुँदैन तपाईहरु पनि कठोर हुनपर्छ। कहाँ के गर्नुपर्छ, के बनाउनु पर्छ त्यो तपाईंहरुले निकाल्नु पर्छ। डुवर्सको केन्द्रीय समितिहरु बसेर समीक्षा गर्नुपर्छ।


तिनले पूर्व, मध्य, पश्चिम र सुनकोशको एक एकवटा कमिटी गठन गर्ने निर्देश दिएका छन्। सभामा डुवर्समा साङ्गठानिक कार्यहरु गर्न एवम् सङ्गठनलाई मजबुत बनाउन के-कस्ता पाइलाहरु चाल्नु पर्ने साथै पार्टी चलाउँदा निस्किरहेको विभिन्न समस्याहरु अनि त्यसको समाधानको निम्ति पार्टी पक्षबाट के कस्तो पाइलाहरु चाल्न सकिन्छ भन्ने बिषयमा चर्चा-परिचर्चा गरिएको पार्टी सूत्रले जानकारी दिएको छ। सभामा पूर्व, मध्य र पश्चिम डुवर्सका गोजमुमो प्रतिनिधिहरुले डुवर्स क्षेत्रको समस्याहरुको समाधानको निम्ति एवम् साङ्गठनिक गतिविधिहरुलाई सुचारु रूपले सञ्चालन गरेर लैजानको निम्ति विशेष पहल चाल्नु पर्ने बिषयमा आ-आफ्नो विचार राखे। यसपाली पनि कुनै व्यवस्था हुन्छ भने विगतका दिनहरुमा ‌जस्तो डुवर्स छुटिनु हुँदैन भन्ने कुरामा पनि केही वक्ताहरुले सभामा ध्यानाकर्षण गराए। सभामा पार्टी अध्यक्ष बिमल गुरूङ लगायत केन्द्रीय महासचिव रोशन गिरी, सह-सचिव शिव सुनार, प्रियवर्धन राई, केन्द्रीय समिति सदस्य मदन लामा, मधुकर थापा, नारी मोर्चा केन्द्रीय समिति सदस्य अमृता राई, पूजा राई, हस्तमाया विश्वकर्मा साथै पूर्व, मध्य र पश्चिम डुवर्सका प्रतिनिधिहरू धेरै संख्यामा उपस्थित रहेको थियो। यसै क्रममा एसडेडीएअन्तर्गत रहेका पूलहरूको अवस्था जाँच गर्न एउटा एक्सपर्ट कमिटी गठन गरिने पनि निधो लिइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *