मङपु : ड्रग्स मुक्त निर्माण समिति अनि मङपु पुलिस आउट पोस्टको संयुक्त आयोजनामा आज मङपु थाना प्राङ्गणमा चन्द्रकला राईको अध्यक्षता एउटा सभा सम्पन्न गरियो। सभाको मूल विषय गत काली पुजाको आय-व्यायको हिसाब तथा मुङपुमा ट्राफिक सुचारु व्यवस्था राख्नको निम्ति गरिएको थियो। सभामा मङपु आउटपोस्ट थाना प्रभारी ओसी विजय थामी, दार्जिलिङका ट्राफिक डीएसपी अरिन्दम अधिकारी, दार्जिलिङ जिल्ला ट्राफिक ओसी दोर्जी शेर्पा, आरआर ब्लक ट्राफिक ओसी सुदेश शेर्पा लगायत अन्य पुलिस कर्मीहरूको उपस्थिति रहेको थियो। सभामा काली पुजाको हिसाब पुजा कमिटीका कोषाध्यक्ष जिग्मी तामाङले विस्तृत रूपमा बताए।

यसपछि मङपुमा बढ्दो ट्राफिकलाई लिएर सभामा चर्चा परिचर्चा गरियो। चालक संघको पक्षबाट सभामा हर्क पाख्रीन, मनोज सुब्बाले आ-आफ्नो मन्तव्य राखे। विज्ञान मिश्र, नरेश शेर्पा, सञ्जय चौधरी अनि सभानेत्री चन्द्रकला राईले पनि मङपु रेसेप बजारलाई वान वे रोड बनाउने विषयबारे जोड दिए। आजको सभामा पुरानो ड्रग्स मुक्त मङपु निर्माण समितिलाई विघटन गरेर नयाँ समिति गठन गरियो, जसमा सभापति केशर मोक्तान, उपसभापति किरण पाख्रिन, सचिव ज्ञानदीप चामलिङ, सह सचिव प्रवेश सिङदान, कोषाध्यक्ष सञ्जोक तामाङ लगायत अन्य पदाधिकारीहरूलाई चयन गरियो। आरआर ट्राफिक ओसी सुदेश शेर्पाले मङपुको ट्राफिकलाई सुचारु राख्न दैनिक कार्य गरिरहेको साथै यसमा सम्पूर्ण मङपुवासीको सहयोग चाहिने कुरा बताए।
