मङपु : विश्व कवि गुरु रवीन्द्रनाथ ठाकुरको 80औँ पुण्यतिथि आज मङपु रवीन्द्रनाथ सङ्ग्रहलयमा सामान्य रूपमा पालन गरियो। सूचना एवम् सांस्कृतिक विभाग दार्जिलिङको आयोजनमा कोभिड 19-को नियमलाई पालन गर्दै कवि गुरुदेवको 80औँ पुण्यतिथि पालन गरियो। सूचना एवम् सांस्कृतिक विभाग दार्जिलिङ जिल्ला अधिकारी जगदीस चन्द्र रोयको बाहुलीबाट कविको प्रतिकृतिमा मल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरियो। यसैगरी, रवीन्द्र श्रमिक कल्याण केन्द्र मङपुका कर्मचारी बुद्ध कुमार मोक्तान, सदुमा छेत्री अनि कुशल मुखियाले पनि रवीन्द्रनाथ ठाकुरको तस्वीर अघि दीप प्रज्ज्वलन गर्दै माल्यर्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा कवि रवीन्द्रनाथ ठाकुरको स्मरण गर्दै कुशल मुखियाले गुरुदेवद्वारा रचित मिठो गीत प्रस्तुत गरे। वर्षा झरीमा कवि गुरुदेवलाई श्रद्धा सुमन अर्पण गर्न सिलगढी, दार्जिलिङ लगायत अन्य क्षेत्रबाट पर्यटकहरू मङपु आएका थिए।
