सिलगढी : मानसिक रूपमा अस्वस्थ्य घरविहीन महिलासित दुष्कर्म गरेको आरोपमा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। उक्त घटना फाँसीदेवाको जालास निजामतारा अञ्चलको नरदेवजोतमा घटेको हो। आरोपी व्यक्ति नरदेवजोत इलाका निवासी भवानन्द सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो इलाकाका महिलाहरूले भवानन्दको घरबाट महिला रोएको आवाज सुनेपछि घरभित्र पसेर हेर्दा मानसिक रूपमा अस्वस्थ्य महिलालाई निर्वस्त्र अवस्थामा देखे। यसपछि स्थानीय मानिसहरूले फाँसीदेवा थानामा लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिस घटनास्थलमा पुगेर आरोपी व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। आरोपी व्यक्तिलाई कठोर सजाय दिनुपर्ने स्थानीय मानिसहरूले माग गरेका छन्। अर्कोतिर, मानसिक रूपमा अस्वस्थ्य महिलालाई मेडिकल जाँचको लागि होममा पठाएको छ।