खरसाङ (निसं): खरसाङको मन्टिभियट चियाबगान 3 नम्बर गाउँको सार्वजनिक भवनमा मन्टिभियट ग्राम सुधार समितिको 59औँ स्थापना दिवस भव्य रूपमा पालन गरियो। साजन थापाको अध्यक्षतामा सम्पन्न यस स्थापना दिवसमा 28 नम्बर समष्टिका सभासद श्याम शेर्पा मुख्य अतिथिको रूपमा उपस्थित थिए। अध्यक्ष साजन थापा, मुख्य अतिथि श्याम शेर्पा, संरक्षक वीरमान तामङ, प्रमुख सल्लाहकार दावा गोले, पुरण तामाङको हातबाट धुप दीप प्रज्जवलन गरियो साथै गाउँको वयोवृद्ध च्याउकी तामाङको बाहुलीबाट समितिको 59औँ स्थापना दिवसको केक काटेर कार्यक्रम शुरू गरियो। समितिका दिवगत संस्थापक सदस्यहरूलाई स्मरण गर्दै 2 मिनटको मौन धारण गरेपछि सत्य साई बाल विकासको नानीहरूद्वारा भजन प्रस्तुत गरेपछि गाउँका समाज सेवकहरू जसले विगत दिनहरूमा समितिको विभिन्न पदभार सम्हालेर समितिलाई सहयोग गर्नेहरूलाई सम्मान गरियो। यस क्रममा गंगाराम सुब्बा, चन्द्रा तामाङ, फुर्बा लेप्चा, सन्ते स्याङबो, किशोर रोका, सन्तबहादुर राई अनि मणि घिसिङ आदिलाई समितिको पक्षबाट सम्वर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। फुर्बा घिसिङ प्रतिभा रोका अनि रजनी प्रधान लेप्चाद्वारा सञ्चालन गरिएको यस सांगीतिक कार्यक्रममा गाउँका नानीहरूले विविध नृत्य गीतहरू लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरे। समिति सचिव सुनील राईले आफ्नो प्रतिवेदनमा समितिबारे छोटो जानकारी राखे। यस सांगीतिक कार्यक्रममा नृत्य अनि गीतमा भाग लिने नानीहरूलाई उपस्थित विशिष्ट अतिथिहरूद्वारा पुरस्कार वितरण गरियो।
