सिलगढी : सिलगढी जलपाईगढी विकास परिषदद्वारा सिलगढी नगरनिगमको 11 नम्बर वार्डस्थित खुदीराम पल्ली इलाकामा विधान रोडदेखि बाप्पी स्टोरसम्म लगभग 4 सय मीटर नयाँ सडक निर्माण कार्यको आज राज्यका पर्यटन मन्त्री गौतम देवले विधिवत् रूपमा शिलान्यास गरे। उक्त सड़क निर्माण कार्य लगभग 210 दिनमा पूरा गर्ने लक्ष्य साथै लगभग 43 लाख रुपियाँको लागतमा उक्त निर्माण कार्य गरिने बताइएको छ। यस अवसरमा मन्त्री गौतम देवले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा सिलगढीमा विकास कार्यहरू गरिरहेको साथै सिलगढी नगरनिगमको सत्ताधारी पार्टीको राजनीतिको कारण कुनै कार्यहरू हुन नपाए तापनि ममता ब्यानर्जीको निर्देश अनि एसजेडीएको सहयोगमा लगातार विकास कार्य गरिरहेको बताए। केही दिनमा सिलगढी नगरनिगमको विभिन्न वार्डमा अझ विकासमूलक कार्यहरू गर्ने तिनले बताए। आजको शिलान्यास कार्यक्रममा पर्यटन मन्त्री गौतम देव, एसजेडीए चेयरम्यान विजय चन्द्र बर्मन, तृणमूल दार्जिलिङ जिल्ला अध्यक्ष रञ्जन सरकार, पार्षद नान्टु पाल लगायत अन्य उपस्थित थिए।