मिरिक : मिरिक मरमा चियाबारीमा साहित्यिक सामयिक पत्रिका “प्रवाह”-को आज विधिवत् लोकार्पण गरियो। कोठीधुरा नव समाजद्वारा आयोजित लोकार्पण कार्यक्रमको अध्यक्षता कवि तथा पूर्व शिक्षक पूर्ण बान्तवाले गरेका थिए। कवियत्री कमला राई प्रमुख अतिथिको रूपमा अनि कवियत्री श्रीमती उर्मिला घिसिङ विशिष्ट अतिथिको रूपमा उपस्थित थिइन्। यसबाहेक कञ्चनजङ्घा उद्धार केन्द्रका संस्थापक सचिव सुश्री रङ्गु सौरिया, लब देवान, समाज सेवी क्याप्टन मिलन चोङबाङ, वरिष्ठ लेखक राजबहादुर राई लगायत मिरिक, राङभाङ भ्याली तथा खरसाङका वरिष्ठ कविहरू उपस्थित थिए। कार्यक्रमको आरम्भमा नेपाली साहित्यका वरिष्ठ लेखक स्वर्गीय भवजित तामाङ तथा गायक पारस गजमेरको आत्म शान्तिको लागि एक मिनटको मौन धारण गरियो।
सन् 1982-मा “प्रवाह” पत्रिकाको प्रथम अङ्क प्रकाशित भएको थियो भने 39 वर्षपछि आज दोस्रो अङ्क प्रकाशित गरियो। कार्यक्रममा मिरिक क्षेत्रका वरिष्ठ कवि क्रमैले विद्रोही साइला (अरुण चन्द्र कुलुङ), कमला राई, कमला तामङ, गोकुल रसाईली, शिला लामा, नागरीबाट कवि पवन नाम्दुङ, भुपाल सुब्बा, मरमा चियाबारीका उम्दा युवा कविद्वय मुस्कान राई अनि शरद राईले कविता वाचन गरे। कार्यक्रममा कोठीधुरा नव समाजको तर्फबाट समाजसेवी रङ्गु सौरियालाई सम्वर्द्धना जनाइयो।