सिलगढी : कोरोना भाइरसको आतङ्कपछि भिडभाड रहने सिलगढी सहर संलग्न कतिपय पर्यटक स्थलहरूमा सम्बन्धित विभागले आगामी 31 मार्चसम्मको निम्ति बन्द गरिदिएको छ। स्थानीय तथा बाहिरबाट यी ठाउँहरूमा दिनहुँजसो धेरै सङ्ख्यामा मानिसहरू घुम्न आउने गरेकोले गर्दा नै तिनीहरूको स्वास्थ्यको हितलाई ध्यानमा राखेर यी पर्यटन स्थलहरू बन्द गरिएको बताइएको छ। यसै क्रममा मतिगढास्थित साइन्स सेन्टर पनि आजदेखि 31 मार्च सम्मको लागि बन्द गरिएको छ। राज्य सरकारले दिएको निर्देशअनुसार नै उक्त साइन्स सेन्टर बन्द गरिएको सम्बन्धित कर्तृपक्षले विज्ञप्तिमार्फत् जनाएको छ। यसबाहेक सिलगढी सहरदेखि केही दूरीमा रहेको एक आकर्षक पर्यटन स्थल सालुगढाको बेङ्गल सफारी पनि आजदेखि बन्द गरिएको छ।