गान्तोक : मेघालयका मुख्यमन्त्री कोनरद साङमा आज विमानमार्फत् सिक्किम आइपुगे। तीनदिने भ्रमणमा आफ्नो पत्नी सहित सिक्किमको पाक्योङ, ग्रीन फिल्ड एयरपोर्टमा आइपुगेपछि तिनलाई प्रशासनिक अधिकारी, स्पेसल बाञ्चका डीआईजी प्रवीण गरूङ, एडीसी हेमन्त राई लगायत विमानअड्डाका उच्च अधिकारीहरूले भव्य रूपमा स्वागत जनाए। प्राप्त जानकारीअनुसार मुख्यमन्त्री साङमाको यो नीजि भ्रमण रहेको बताइएको छ। यस अवसरमा साङमाले बताएअनुसार हिमाली राज्य सिक्किम एउटा सुन्दर पर्यटन राज्य हो अनि यहाँका मुख्यमन्त्री आफ्नो अभिन्न मित्र रहेकोले गर्दा नै आफू तीन दिनको भ्रमणमा यहाँको मनोरम पर्यटक स्थलहरू हेर्नको निम्ति आएको बताए।
यस भ्रमण अवधि तिनले सिक्किमको विभिन्न चर्चित पर्यटक स्थलहरू लगायत यहाँको लेकहरूको पनि परिभ्रमण गर्ने भएका छन्। यसबाहेक, सिक्किमको ग्रामीण सुदूरवर्ती क्षेत्रहरूको पनि तिनले घुम्न जाने इच्छा जाहेर गरेका छन्। यसैगरी, तिनले समुद्र तलदेखि निक्कै उचाइँमा रहेको सिक्किमको पाक्योङ विमानअड्डाको पनि प्रशंसा गरे। मुख्यमन्त्री साङमाले उत्तर पूर्वीय राज्यहरूमा पर्यटनको प्रशस्त सम्भावना रहेको बताउँदै यी राज्यहरूमा घुम्न आउने पर्यटकहरूको निम्ति उक्त हवाई सेवाले धेरै सहयोग पुग्नेछ भनी आशा व्यक्त गरे।