खरसाङ (29 अप्रेल): खरसाङ खण्ड अन्तर्गत मेरियनबारी चिया बगानमा गत 24 अप्रेल 2023 देखि जारी धरना प्रदर्शन आज छैटौं दिन पनि जारी रह्यो। श्रमिकहरूको पीएफ साथै ग्रेजुएटीको रकम मालिक पक्षले भुक्तान नगरेको साथै दैनिक हाजिरा तथा मासिक तलब समयमा नदिएको प्रतिवादमा मारियनबारीका चिया श्रमिकहरूले शुरू गरेको धरना आगामी 2 मईदेखि रिले अनशनमा परिणत हुने तय गरिएको थियो। तर आज मात्र सहायक श्रम आयुक्त खरसाङबाट त्रिपक्षीय वार्ताको निम्ति आगमी 4 मई 2023 को दिन श्रमिक भवन, डागापुर सिलगढीमा डाकिएको हुनाले 2 मईदेखि हुने रिले अनशनलाई वार्ता हुने दिनसम्मको निम्ति स्थगित गरिएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो-को श्रमिक संगठन एचटीडीपीडब्लुयु मेरियनबारी युनिटका सचिव बिनोद प्रधानले जानकारी गराएका छन्।
