खरसाङ : जीटीएको क्षेत्रका ग्राम पञ्चायत कार्यालयतिर एमजी नरेगा (सय दिने रोजगार) को कार्यमा कार्यरत् अस्थायी कर्मचारीहरूले विगत दुई तीन महिनादेखि वेतन नपाएकोले आज जीटीए क्षेत्रका विभिन्न खण्ड विकास कार्यालयहरूमा ज्ञापन दिँदै खण्ड विकास कार्यालय अघि धरना प्रदर्शन गरे। यसै क्रममा खरसाङ खण्ड अन्तर्गत पर्ने 14 वटा ग्राम पञ्चायत कार्यालयतिर कार्यरत 40 जना अस्थायी कर्मचारीहरूले खरसाङ खण्ड विकास अधिकारीलाई ज्ञापन दिएर कार्यालय अघि आज धरना प्रदर्शन गरे। उक्त ज्ञापन दिने तथा धरना प्रदर्शनको कार्य पार्वतीय अस्थायी कर्मचारी संगठनद्वारा गरिएको हो। जीटीए क्षेत्रका विभिन्न ग्राम पञ्चायत अन्तर्गत एमजी नरेगामा कार्यरत् अस्थायी कर्मचारीहरूले वेतन नपाएको कारणले गत 8 मार्च 2022 को दिन नै दार्जिलिङ जिल्ला शासक, एमजी नरेगा (सय दिने रोजगार) सेल जीटीएको कार्यकारी निर्देशक र जीटीए क्षेत्रका विभिन्न खण्ड विकास अधिकारीहरूलाई ज्ञापन दिने कार्य गरेका थिए।

तथापि अहिलेसम्म पनि अस्थायी कर्मचारीहरूले वेतन नपाएको कारणले यस विषयमा जानकारी गराउँदै आज विभिन्न खण्ड विकास अधिकारीहरूलाई पुन: ज्ञापन दिने कार्य र धरना प्रदर्शनको कार्य पार्वतीय अस्थायी कर्मचारी सङ्गठनद्वारा सम्पन्न गरियो। यस विषयमा पार्वतीय अस्थायी पञ्चायत कर्मचारी संगठनको पक्षबाट सभापति प्रभात गजमेरले पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको विभिन्न ग्राम पञ्चायतभित्र एमजी नरेगामा हामीले विगत जनवरी महिनादेखि वेतन पाएका छैनौं कारण हाम्रो वेतन केन्द्र सरकारले सोझैं दिने भनिएको तर कतिपय तक्निकी कारणहरूले गर्दा समस्या बढ़ेर गइरहेको छ भनी बताए। तिनले यस विषयमा हामीले गत 8 मार्च 2022 को दिन नै सबैलाई सुचित गरेका थियौं तर अहिलेसम्म पनि वेतन नपाएको छैनौं। त्यसैले जीटीएभरिको जम्मा 8 वटा खण्ड विकास कार्यालयहरूतिर ज्ञापन दिने र धरना प्रदर्शन गरिरहेको जानकारी गराए। यस विषयमा खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विश्वाससित कुराकानी गर्दा तिनले यो विषय तक्निकी कारणहरूले गर्दा भएको र यस विषयमा आफुले केही भन्नु नसक्ने र यो जिल्लाले हेर्ने बताएका छन्। तिनले आफ्नो तर्फबाट कार्य गरिरहेको बताए।
