मिरिक (निसं): मिरिक नगरपालिकाको वार्ड नम्बर 6 अन्तर्गत काँउले गाँउमा आज मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई अनि मिरिक नगरपालिका अध्यक्ष एलबी राईले भिन्ना-भिन्नै योजनाहरूको शिलान्यास गरे। शिलान्यास गरिएको योजनाहरूमा फूटपाथ, नाला, झोडा, पर्खाल, भवन आदि रहेको बताइएको छ। यस अवसरमा सभासद मिलेस राईले भने, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन मार्फत जनताको मूलभूत समस्या समाधन गर्ने कार्य भइरहेको छ अनि सोही अनुरूप जनताको मूलभूत समस्याको समाधन गर्न शिलान्यास कार्यक्रम गरिएको हो।
तिनले वार्ड नम्बर 6 मा मिरिक नगरपालिका मार्फत पनि धेरै विकासमूलक कार्यहरू भइरहेको जानकारी गराउँदै मिरिक नगरपालिकाको साथमा जीटीए क्षेत्रमा पनि विकास गर्न चाहन्छ भनी बताए। तिनले आपसी एकता र तालमेल कायम राखेर क्षेत्रलाई विकासको मार्गमा अघि बढाउने वार्डवासीलाई अनुरोध गर्दै वार्डमा धेरै विकासको कार्य गर्ने आफूले योजना तयार पारेको बताए। तिनले वर्खायाममा नाला, झोडा ,पर्खाल ब्यवस्थित हुन अति आवश्यक रहेको कारण नै उक्त शिलान्यास गरिएको बताए। वार्डमा विकास कार्यको शिलान्यास गरिदिएकोमा सभासद मिलेस राई अनि नगरपालिका अध्यक्ष एलबी राईप्रति वार्डवासीले आभार प्रकट गरेका छन्।