मिरिक : मिरिक महकुमाको बुङकुलुङमा आज आयोजित भाजपा-को सभामा विभिन्न पार्टी त्यागेर लगभग 100 जना मानिसहरू भाजपामा सामेल भएका छन्। यसबारे सौरेनी मण्डल भाजपा अध्यक्ष तुलसी मास्केले जानकारी दिएका छन्। भाजपा जिल्ला अध्यक्ष कल्याण देवानको अध्यक्षता अनि राज्य सचिव शान्तनु बोस, राज्य कमिटी कार्यकारी सदस्य मनोज देवान, जिल्ला कमिटी सदस्यहरू विनोद मोक्तान, नारायण गुरुङ, केके सिंह अनि खरसाङ मण्डल, मिरिक, सौरेनी पानीघट्टा मण्डलको नेतृत्वहरूको उपस्थितिमा सम्पन्न सभा दीप प्रज्ज्वलन गरेपछि शुरू गरियो। सौरेनी पानीघट्टा मण्डलको आयोजनामा सम्पन्न सभामा मिरिक, खरसाङ र सौरेनी समष्टिको विभिन्न ठाउँबाट लगभग 100 जना भाजपामा सामेल भए। भाजपा राज्य कमिटी सचिव अनि जिल्ला अध्यक्षले तिनीहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।