मिरिक: मिरिक महकुमामा पनि आजदेखि 15 देखि 18 वर्षसम्मका विद्यार्थीहरूलाई कोरोनाको भ्याक्सिन लगाउने कार्य शुरू गरिएको छ। आज मिरिक उच्च माध्यमिक विद्यालय अनि सौरेनी रविन्द्रनाथ उच्च माध्यमिक विद्यालयका लगभग 700 जना विद्यार्थीहरूलाई कोरोना भ्याक्सिन लगाइयो। यस अवसरमा मिरिक महकुमा शासक सुदीप्त देवनाथ, डीएमडीसी मृदुल श्रीमणी, एसडीपीओ रूद्धनारायण साव, मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रका बीएमओएच डाक्टर टाँशी लामा, मिरिक नगरपालिका अध्यक्ष एलबी राई आदि उपस्थित थिए। भ्याक्सिन लगाउनको लागि विद्यार्थीहरूमा आज निक्कै उत्साह देखियो भने भ्याक्सिन लगाएपछि राहत अनुभाव गरेको कुरा विद्यार्थीहरूले बताए।

यस अवसरमा मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रका बीएमओएच डाक्टर टाँशी लामाले बताए अनुसार आजदेखि सरकारले 15 देखि 18 वर्षसम्म पुगेकाहरूलाई भ्याक्सिन लगाइने कार्य मिरिक महकुमामा पनि शुरू भएको छ भने आगामी शुक्रबारसम्म सरकारी विद्यालयका विद्यार्थीहरूलाई भ्याक्सिन लगाइसक्ने विभागले लक्ष्य राखेको छ। सरकारी विद्यालयहरूमा भ्याक्सिन लगाइने कार्य समाप्त भएपछि निजी विद्यालयहरूमा पनि भ्याक्सिन लगाइने तिनले जानकारी दिएका छन्। यसैगरी, मिरिक महकुमा शासक सुदिप्त देवनाथले भने, मिरिक महकुमामा 7 वटा सरकारी विद्यालय रहेको अनि यी विद्यालयहरूमा अध्यनरत् 15 देखि 18 वर्षसम्म पुगेका विद्यार्थीहरूलाई भ्याक्सिन लगाइनेछ। सरकारले जारी गरेको नियमहरुलाई मध्यनजर गर्दै भ्याक्सिन शिविर सम्पन्न गरिएको बताइएको छ।
