मिरिक: गत विधानसभा चुनाउमा फेरि जीत हासिल गरेपछि पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आगामी 16 अगस्तको दिन राज्यव्यापी रूपमा खेला दिवस पालन गर्ने घोषणा गरेकी थिइन्। यता पहाडमा पनि तृणमूल कङ्ग्रेसले उक्त दिन खेला दिवसको रूपमा मनाउने भएको छ। यसै प्रसंगमा आज पत्रकार सम्मेलन आयोजना गर्दै हिल टीएमसी अध्यक्ष एलबी राईले भने, आगामी 16 अगस्तमा मिरिकमा पनि खेला दिवस पालन गरिने छ। उक्त दिन मिरिक नगरपालिका क्षेत्र तथा मिरिक खण्डलाई लिएर यहाँको आहले खेल मैदानमा फुटबल प्रतियोगिता आयोजना गरिने छ। अर्कोतिर, आगामी 18 अगस्तदेखि द्वारे सरकार शिविरको पनि आयोजना गरिने तिनले जानकारी दिए। यसपालीको द्वारे सरकार शिविरमा लक्ष्मी भण्डार नयाँ प्रकल्प रहेको बताए। तथापि कतिपय मानिसहरूले लक्ष्मी भण्डारको फारमहरू नगदमा बिक्री गरिरहेको सुन्नमा आएको र हालसम्म कुनै पनि साईबर तथा दोकानहरूमा लक्ष्मी भण्डारको फारम नआएको भन्दै जनसाधारणलाई यसरी बाहिरबाट फारम किन्ने कार्य नगरिदिने बताए। यसवाहेक तिनले लक्ष्मी भण्डारको फारम शिविरमा नै निःशुल्क रूपमा प्रदान गरिने जानकारी गराए।
