मिरिकमा तीन दिवसीय डिजिटल फिल्म मेकिङ वर्कशपको समापन

मिरिक: मिरिक बालाली इन्टरटेन्टमेन्टको आयोजनामा मिरिकमा भएको तीन दिवसीय डिजिटल फिल्म मेकिङ वर्कशपको आज समापन भयो। वर्कशपको अन्तिम दिन आज मुम्बईबाट आएका क्रेटिभ फिल्म मेकिङ कन्सलटेन्ट राज रोय कर्माकारले चलचित्र निर्माण, एडीटिङ, भिडियो, अभिनय आदिबारे प्रशिक्षण दिए। तीन दिनसम्म चलेको प्रशिक्षण शिविरमा मिरिक, दार्जिलिङ, खरसाङ, सिलगढी, सिक्किम आदि ठाँउका चलचित्रमा चासो राख्ने मानिसहरूले प्रशिक्षण लिएका थिए। समापन कार्यक्रममा आज प्रशिक्षणार्थीहरूलाई प्रमाण पत्र वितरण गरियो भने प्रशिक्षणार्थीहरूले आ-आफ्नो कलाहरू प्रस्तुत गरे।


यस अवसरमा एउटा नाटक पनि प्रस्तुत गरियो। तीन दिनसम्म प्रशिक्षण लिएका प्रशिक्षणार्थीहरू शान्ता राई, सचिन राई, कमला गुरूङ, डीके गिरी,सकिला गुरूङ आदिले मिरिकमा भएको प्रशिक्षण शिविरमा चलचित्र निर्माण साथै अभिनयबारे धेरै जानकारी प्राप्त भएको जानकारी गराउँदै मिरिकमा प्रशिक्षणको निम्ति प्रशिक्षकहरूको ब्यवस्था मिलाइ दिएकोमा मिरिक बालाली इन्टरटेन्टमेन्टका प्रमुख कैलास राई अनि प्रशिक्षक राज रोय कर्माकरप्रति आभार प्रकट गरे। मिरिकमा तीन दिवसीय डिजिटल फिल्म मेकिङ प्रशिक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको अनि प्रशिक्षणार्थीहरूले उत्साहपूर्वक भाग लिएको राज रोय कर्माकारले बताए। तिनले मिरिक जस्तो प्राकृतिक सुन्दर ठाँउमा प्रशिक्षण शिविर हुनु मिरिक मात्र नभएर पहाडवासीको लागि नै गर्वको कुरो रहेको बताउँदै कुनै पनि कार्य गर्दा प्रशिक्षण लिन आवश्यक रहेकोले गर्दा यो प्रशिक्षणले चलचित्र निर्माणमा लागेर भविष्य निर्माण गर्नेहरूलाई ठूलो टेवा पुग्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *