मिरिक: मिरिकको आहाले खेल मैदानमा हाल सम्पन्न भइरहेको प्रतिष्ठित समेन्दु गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आगामी 31 जनवरी विविध कार्यक्रमको साथमा सम्पन्न गरिने भएको छ। उक्त दिनको फाइनल म्याचपछि एउटा साङ्गीतिक कार्यक्रमको पनि आयोजना गरिने भएको आयोजक समितिले जनाएको छ। उक्त साङ्गीतिक कार्यक्रममा नेपालका चर्चित गायिका मेलिना राई अनि नेपाल आइडलको प्रतियोगी तथा दार्जिलिङका गायिका याङ्की यल्मोले पनि आ-आफ्नो प्रस्तुती दिने भएका छन्। यसलाई लिएर मिरिकका गीत-सङ्गीतमा रुचि राख्ने अनि गायिका मेलिना राईको फ्यानहरुमा धेरै उत्सुकता देखापरेको छ । यसको अतिरिक्त अन्य सथानीय कलाकारहरुको पनि प्रस्तुती दिने आयोजक समिति मिरिक स्पोर्ट्स एशोसिएसनका सचिव केसाङ लामाले पत्रकारहरूलाई जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार मिरिक समेन्दु गोल्डकप फुटबल फाइनलमा रोयल एफसी सिलगढी र आर्म्स पुलिस, डाबग्राममाझ प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेलमा विजयी टोलीलाई 2 लाख नगद राशिसहित आकर्षक गोल्डकप ट्रफी अनि पराजय टोलीलाई 1 लाख नगद राशिसहित ट्रफी प्रदान गरिने छ।