मिरिक : मिरिक महकुमा अन्तर्गत सौरेनी बस्तीमा हाल चितुवाको हमलामा दुईजना ब्यक्ति गम्भीर रुपमा घाइते बनेका छन्। उक्त घटनापछि स्थानीय मानिसहरू आतंकित बनेका छन् भने विशेष गरेर काम परेको खण्डमा साँझको समयमा घरबाट बाहिर निक्लिएर कतै जान समेत गाउँलेहरू डराइरहेका छन्। प्राप्त जानकारी अनुसार मिरिकको सौरेनी बस्तीमा उत्तम शर्मालाई मङ्गलबार साझ चितुवाले आक्रमण गर्दा तिनको प्राण भाग्यले बाँचे तापनि तिनी घाइते भएका छन्। तिनलाई मिरिक स्वस्थ्य केन्द्रमा भर्ना गरिएको छ। यसभन्दा अघि गत सोमबार साँझमा पनि चितुवाको आक्रमणमा परेर विद्यार्थी दिब्यम राई घाइते भएका थिए। तिनलाई पनि मिरिक स्वस्थ्य केन्द्रमा भर्ना गरेपछि हाल उपचार चलिरहेको बताइएको छ। सौरेनी बस्तीमा हाल दिनहुँ जसो चितुवाले मानिसहरूलाई आक्रमण गरिरहेकोले गर्दा यसको रोकथामको लागि चाँड़ै वन विभागले गम्भीरतापूर्वक ध्यान दिएर पहल गर्नु पर्ने स्थानीय मानिसहरूले माग गरेका छन्।