सिलगढी (निसं): मोहित चावलियाको रहस्यमय मृत्यु मामिलामा पुलिसले तिनको स्वास्नी सुनीता राईलाई पक्राउ गरेको छ। स्मरण रहोस, मतिगढा थाना अन्तर्गत न्यू कोलोनी इलाकामा पारिवारिक विवाद पछि मोहित चावलियाको शव तिनकै घरमा झुन्डिएको अवस्थामा भेट्टाइएको थियो। मोहितको मृत्युको खबर सुनेपछि परिवार लगायत सम्पूर्ण इलाकामा नै सनसनी फैलिएको थियो। घटनास्थलबाट पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पताल पठाइदिएको थियो। अर्कोतिर, मोहितको मृत्यु भएपछि तिनको आमा, बहिनी लगायत इलाकाको मानिसहरूले दोषी मोहितको स्वास्नीलाई पक्राउ गर्ने माग गर्दै हिज खोपरेल मोड़ ट्राफिक प्वाइन्ट नजिक राष्ट्रीय राजमार्गमा लगभग एक घन्टासम्म बन्द गरेर प्रदर्शन गर्दै हो-हल्ला मच्चाएको थियो। उक्त घटना पछि डीसीपी कुंवर भूषण सिंह घटनास्थलमा पुगेर तिनीहरूलाई सान्त्वना दिँदै दोषीहरूलाई चाँडै पक्राउ गर्ने आश्वासन दिएका थिए। यसपछि मानिसहरूले प्रदर्शन समाप्त गरेका थिए। यसको साथै मृतकको परिवार पक्षले थानामा मोहितको स्वास्नी सुनीता, तिनको ठूलो दिदी मामुनी र तिनका भेना झन्टु मण्डल विरूद्ध मारपीट, मानसिक अत्याचार गरेको बारे अभियोग दर्ता गरेको थियो। यसपछि नै मतिगढा पुलिसले मोहितको स्वास्नी सुनीता राईलाई पक्राउ गरेको बताइएको छ। सुनीताको ठूलो दिदी मामुनी र तिनका भेना झन्टु मण्डललाई पनि पुलिसले खोजी गरिरहेको छ।
