खरसाङ (निसं): मिसेस नर्थ ईस्ट ब्युटी पिजेन्ट प्रतियोगिता 2023 मा भाग लिएर खरसाङ क्षेत्रका तीनजनाले विभिन्न अवार्डहरू जित्न सफल भएका छन्। खरसाङ क्षेत्रका तीनैजनाले आज खरसाङमा संयुक्त पत्रकार सम्मेलन गरेर पाएका अवार्डहरू प्रदर्शन गर्नको साथै महिलाहरूलाई दिएको यो असल मञ्चको लागि आयोजक समितिलाई धन्यवाद पनि दिएका छन्। उक्त पाँचौं संस्करणको मिसेस नर्थ ईष्ट ब्युटी पिजेन्ट प्रतियोगितामा खरसाङको वार्ड नम्बर 8 बङ्दिल निवासी सबिना गिरी, जो प्रतियोगितामा टप 20 मा आउन सफल बनेकी थिइन्। उनले यस प्रतियोगितामा मिसेस पर्सनालिटीको अवार्ड पनि जितेकी थिइन्। त्यसरी नै अर्का प्रतियोगी खरसाङ महकुमा अन्तर्गत सिटोङ तीन निवासी तथा हाल खरसाङको मध्य डुमाराम बस्दै आएकी सरस्वती थापाले पनि उक्त प्रतियोगितामा बेस्ट ट्रेडिशनल पहिरन र पब्लिक चोइसमा सेकेण्ड रनर अप भएकी थिइन्। यी दुईजना बाहेक खरसाङको शेर्पा बस्ती निवासी सरिता तामाङले पनि दुईवटा अवार्ड जितेकी थिइन्, जसमा बेस्ट भोइस अवार्ड साथै पब्लिक चोइसमा चौथो रनर अप सामेल छन्। आज तीनजनाले खरसाङमा पत्रकारहरू सामु आफुहरूले पहिलो पल्ट यसै वर्ष खरसाङमा आयोजित गोर्खा सुन्दरी प्रतियोगितामा भाग लिएपछि मिसेस नर्थ ईष्ट ब्युटी पिजेन्ट प्रतियोगिताको सिजन 5 मा पनि भाग लिएर यसरी अवार्डहरू जित्न सकेकोमा खुशी व्यक्त गर्दै आयोजक समिति दास इन्टरटेन्टमेन्ट साथै यसको प्रमुख अनु दासप्रति आभार प्रकट गरेका छन्। तीनैजनाले आ-आफ्नो अनुभवहरू साझा गर्दै महिलाहरू गृहिणी मात्र नभएर आ-आ-आफ्नो ट्यालेन्टको साथमा ग्लामरको दुनियाँमा पनि अघि बढ्न सकिने बताएका छन्। तिनीहरूले आफुहरू आ-आफ्नो काममा व्यस्त रहे तापनि यो क्षेत्रमा पनि मौका मिलेको खण्डमा अघि बढ्ने र यस क्षेत्रलाई पनि अघि लिएर जाने प्रतिबद्धता जाहेर गरेका छन्। तीनै जनाले आफुहरू जस्तै अन्य गृहणी महिलाहरूलाई पनि आफ्नो ट्यालेन्टलाई आफुसितै नराखेर प्रदर्शन गरी अघि बढ्ने आह्वान् पनि गरेका छन्। तिनीहरूले सबै गृहणी महिलाहरूलाई आगामी वर्ष 2024 मा हुने छैटौं संस्करणको मिसेस ब्युटी पिजेन्ट प्रतियोगितामा भाग लिने सल्लाह पनि दिएका छन्।