खरसाङ : गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति अध्यक्ष बिनय तामाङ दुईदिने साङ्गठनिक भ्रमणमा खरसाङ आएका छन्। हिजोदेखि शुरू गरेको भ्रमणमा पहिलो दिन टाउन हलमा प्रतिनिधिहरूसित पार्टीको सांगठनिक गतिविधि बिषयमा चर्चा परिचर्चा गरे भने आज खरसाङको टुरिस्ट लजदेखि पैदल यात्रा गर्दै खरसाङ शहर परिक्रमा गरी खरसाङको पार्टी कार्यालयमा साङ्गठनिक सभा गरेका छन्। सभापछि पत्रकारसित बात गर्दै गोजमुमो अध्यक्ष बिनय तामाङले आफु बिमारी भएर केही दिन बसेपछि गत 10 जनवरीदेखि जनताको सेवामा आएको बताउँदै पार्टीको साङ्गठनिक गतिविधि र आफुले उठाएको मुद्दा विषयमा जानकारी गराउँदै आएको बताए। तिनले केही दिन अघि दुइ दिवसीय भ्रमण कालेबुङमा रहेको र यही क्रममा हिजो र आज खरसाङमा आएको अनि भोलि मिरिक जाने पनि तिनले बताएका छन्। तामाङले पत्रकारहरूसित कुराकानी गर्दै यस भूभागको अवस्था र सम्पूर्ण भारतीय गोर्खाहरूको लागि आफुले आवाज उठाएको र उक्त आवाज विषयमा आफ्नो नेतृत्वहरूलाई पनि जानकारी गराउन साथै पार्टीको साङ्गठनिक सभाहरू गर्नलाई आफु आएको पनि बताए। तिनले पार्टीको साङ्गठनिक गतिविधि विषयमा जानकारी लिनको साथै आगामी 2021 को चुनाउको तयारीको लागि पनि यसरी भ्रमण गरिरहेको बताए। विनय तामाङले पत्रकारहरूले सोधेका प्रश्नहरूका उत्तर दिँदै भने, मैले भारतको चुनाउ आयोगद्वारा गरिने कुनै पनि चुनाउ नलड्ने घोषणा गरिसकेको छु। तिनले चुनाउ नलड़ने लिएको निर्णयको कारण जान्न चाहँदा हामीले उठाएको संवेदनशील र गहन मुद्दाको सफलताको लागि चुनाउ नलड़ने निर्णय लिएको बताए। तिनले पार्टीको ठूलो मुद्दाको कारण आफुले चुनाउ मुद्दाबाट राजीनामा दिएको बताए। तिनले भने, हामीले संवैधानिक न्यायको लागि म र मेरो पार्टी लागिपरेका छौं अनि यो मुद्दा पार लगाउनलाई चुनाउमा नउठ्ने निर्णय लिएको हो।