सिलगढी : मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा आजदेखि सिलगढीमा पनि द्वारे सरकार शिविरको सुरूवात गरियो। सिलगढी नगरनिगमको 3 नम्बर वार्डस्थित विवेकानन्द स्कूल प्राङ्गणमा द्वारे सरकार शिविरको आज सिलगढी नगर निगमका मेयर गौतम देवले उद्घाटन गरे। स्मरण रहोस, हालै तीन दिवसीय उत्तर बंगालको भ्रमणमा आएको समय मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढीको विजय सम्मेलनी मञ्चबाट द्वारे सरकार शिविर पुन: शुरू गर्ने घोषणा गरेकी थिइन्। त्यहीं घोषणा अनुसार आजदेखि 3 नम्बर वार्डमा यो शिविर शुरू गरिएको छ।

मेयर गौतम देव आज आफैले शिविरको उद्घाटन गर्नको साथै यसको निरीक्षण पनि गरे। यसबारे मेयर गौतम देवले भने, आजदेखि 3 नम्बर वार्डमा द्वारे सरकार शिविर शुरू भएको छ भने उक्त शिविरमा मानिसहरूको समस्या समाधान गरिने छ। यस शिविर बारे मानिसहरूलाई जानकारी गराइने उद्देश्य लिएर माइकिङ पनि गरिएको तिनले बताए। उक्त शिविरमार्फत विविध सुविधाको फाइदा उठाइदिने तिनले मानिसहरूलाई अपील गरेका छन्।
