मुख्यमन्त्रीले पहाडको चारवटा राजनीतिक दलका प्रतिनिधिहरूसित भिन्ना-भिन्नै गरे बैठक

दार्जिलिङ : हाल दार्जिलिङ भ्रमणमा आएकी राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज पहाडको 4 वटा राजनीतिक दलका प्रतिनिधि टोलीका सदस्यहरूसित भिन्न-भिन्नै समय भेट गरिन्। भेट अवधि अधिकांश राजनीतिक दलका प्रतिनिधि टोलीहरूले जीटीए चुनाउ गराउने कुरामा सहमति जनाएको मुख्यमन्त्री ममता ब्यानर्जीले बैठकपछि जानकारी गराइन्। यस अवसरमा तिनले भनिन्, आज दार्जिलिङस्थित सरकारी निवास रिचमन्ड हिल्समा पहाडको 4 वटा राजनीतिक दल क्रमैले गोर्खा जनमुक्ति मोर्चा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, हिल तृणमूल कङ्ग्रेस र हाम्रो पार्टी-का शीर्ष प्रतिनिधि टोलीसित भिन्न-भिन्नै समय भेट गरेर जीटीए चुनाउ लगायत पहाडको विविध समस्याहरूलाई लिएर चर्चा परिचर्चा गरियो। तिनले अब दुई-तीन महिनाको अवधिमै जीटीएको चुनाउ गराउने घोषणा पनि गरिन्। यसको साथै राज्यको अन्य ठाउँहरूमा त्रिस्तरीय पञ्चायत चुनाउ हुन्छ भने किन दार्जिलिङ पहाडमा त्रिस्तरीय पञ्चयात चुनाउ हुन सक्दैन भन्दै तिनले यसबारे केन्द्र सरकारको सम्बन्धित विभागलाई पत्रचार गरिसकेको जानकारी गराइन्। हालै दार्जिलिङ नगरपालिका चुनाउ जितेर नगरपालिका चेयरम्यान बनेका हाम्रो पार्टीका नगरअध्यक्ष, पार्टी अध्यक्ष अजय एडवर्डलाई पनि मुख्यमन्त्रीले जीतको निम्ति बधाई दिइन्। अर्कोतिर, मुख्यमन्त्रीसितको भेट अवधि पहाडको विविध समस्याहरू लगायत आन्दोलनकालमा भुक्तान नगरिएको बिजुलीको बील माफी गरिनुपर्ने विषयमा लिखित ज्ञापन पत्र चढाएको पार्टी सूत्र मार्फत् थाहा लागेको छ।    


Leave a Reply

Your email address will not be published. Required fields are marked *