दार्जिलिङ : तृणमूल नेत्री तथा राज्यकी मुख्यमन्त्री तथा ममता ब्यानर्जी भोलि 12 जलाईको दिन दार्जिलिङको चौरस्तामा सम्पन्न हुने जीटीए सभाको शपथ ग्रहण समारोहमा अंश ग्रहण गर्नको निम्ति आज अपरान्ह दार्जिलिङ आइपुगिन्। आज विमानमार्फत बाघडुग्रा विमानअड्डामा आइपुगेपछि यहाँबाट तिनी कठोर सुरक्षा व्यवस्थाबीच सोझै वाहनमा सवार भएर दार्जिलिङ प्रस्थान गरिन्। यस अवसरमा मुख्यमन्त्रीलाई दार्जिलिङ पुग्न अघि हालै जीटीए चुनाउमा बहुमत ल्याएर विजय हासिल गर्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेतृत्वगण तथा पार्टीका समर्थकहरूले रोहिणी, खरसाङ, सोनादा, रंगबुल, जोरबंग्लो अनि दार्जिलिङमा भव्य रूपमा स्वागत जनाए। विशेष गरेर मुख्यमन्त्रीले खरसाङ बजारमा आफु चढेको वाहनबाट केही समयको निम्ति ओर्लिएर स्वागत गर्न भेला भएका भागोप्रमो अध्यक्ष अनित थापा लगायत तिनका पार्टीका कार्यकर्ताहरूको न्यानो अभिवादन तथा स्वागतलाई स्वीकार गर्दै अनित थापाको साथमा हात उठाएर विजय (भिक्ट्री)-को ईशारा पनि गरिन्। स्मरण रहोस्, हालै सम्पन्न जीटीए चुनाउको परिणाम घोषणा भएपछि विजयी बनेका सभासदहरूको निम्ति भोलि 12 जुलाईको दिन एउटा कार्यक्रमबीच दार्जिलिङको चौरस्तामा जीटीए-को शपथ ग्रहण समारोहको आयोजना गरिएको छ भने उक्त समारोहमा अंश ग्रहण गर्नको लागि नै आज सोमबार एकदिन आगावै मुख्यमन्त्री ममता ब्यानर्जी दार्जिलिङ आइपुगेकी छन्। चार दिने भ्रमणमा दार्जिलिङ आइपुगेकी मुख्यमन्त्री ममताले भोली मंगलबार जीटीए-को शपथ ग्रहण समारोहमा अंश गर्नेछन् भने पर्सी अर्थात् 13 जुलाईको दिन नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मदिन अर्थात भानुजयन्ती कार्यक्रममा उपस्थित रहने कार्यक्रम रहेको छ भने बिहिवार तिनी कोलकाता फर्किने भएका छन्। यस दार्जिलिङको भ्रमण अवधि मुख्यमन्त्री ममताले हिल टीएमसी लगायत पहाडका विभिन्न राजनैतिक पार्टीका नेताहरूसित भिन्न-भिन्नै भेट गर्न सक्ने सम्भावना रहेको बताइएको छ।