गान्तोक : फुटबल खेलेर राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरमा सिक्किमको नाम उज्ज्वल बनाउन सफल भएका राज्यका केही चर्चित फुटबल खेलाड़ीहरूले आज सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसित भेट गरे। मुख्यमन्त्रीको सरकारी आवास मिन्तोकगाङमा भएको यस सौहार्द्रपूर्ण भेट अवधि सिक्किमका नामी-दामी खेलाडीहरू क्रमैले निर्मल छेत्री, रबिन गुरुङ, सञ्जु प्रधान, विकास जैरु, निम छिरिङ लेप्चा आदिले फुटबल खेललाई राज्यमा अझ बढ़ावा दिन विविध नीति, कार्यक्रमबारे मुख्यमन्त्री पीएस तामाङसँग कुराकानी गरे। यसको साथै युवा पुस्ताका प्रतिभालाई अझ कसरी तिखार्न सकिन्छ भन्नेबारे व्यापक चर्चा गरे। यी खेलाड़ीहरूले मुख्यमन्त्री तामाङलाई आ-आफ्नो खेलको अनुभव साझा गर्दै युवा खेलाड़ीहरूलाई तिनीहरूको प्रतिभा निखार्नमा सहयोग गर्ने वचन दिए। यी अनुभवी फुटबल खेलाड़ीहरूले राज्यका युवा खेलाड़ीहरूलाई उनीहरूको कौशलको विकास साथै प्रतिभालाई पालिस गर्न अहम भूमिका निर्वाह गर्नेछन् भन्ने मुख्यमन्त्री तामाङले विश्वास प्रकट गरेका छन्। यस अवधि मुख्यमन्त्रीले राज्य सरकार सिक्किममा खेलको विकास गर्न साथै नयाँ प्रतिभाहरूलाई राष्ट्रिय अनि अन्तरराष्ट्रिय मञ्चसम्म पुऱ्याउन तत्पर रहेको बताए।
