सिलगढी, 31 मार्च (निसं): आज 31 मार्चको दिन सम्पूर्ण देशभरिमा नै धूमधामको साथ ईद पर्व मनाइँदैछ। यस दिन मुस्लिम धर्मका मानिसहरूले आपसमा आलिङ्गन गरेर एक-अर्कालाई ईदको बधाई दिन्छन्। विभिन्न स्थानहरूमा झै आज बिहान सिलगढीको कञ्चनजङ्घा स्टेडियममा पनि ईदको नमाज अदा गरियो। हरेक वर्षझैं यस वर्ष पनि जामा मस्जिद इन्तेजामिया कमिटीले सिलगढीको कञ्चनजङ्घा स्टेडियममा नमाजको आयोजना गरेको थियो। नमाजमा इस्लामिक समुदायका धेरै संख्यामा मानिसहरूले सहभागिता जनाएका थिए। यसको साथै यस अवधि आज सिलगढीका मेयर गौतम देव लगायत अन्य प्रमुख व्यक्तिहरू पनि उपस्थित थिए। नमाज पढेपछि जामा मस्जिद इन्तेजामिया कमिटीका इमाम गुलाम अरशद बरकातीले सबैलाई ईदको हार्दिक बधाई दिए। मेयर गौतम देवले पनि इस्लाम धर्मका मानिसहरूलाई ईदको शुभकामना दिएका छन्।