नाबालिका हत्याको दोषीलाई कठोर सजाय हुनुपर्छ: विनय कुमार प्रसाद

खरसाङ (निसं): सिलगढीको मतिगढामा नाबालिग छात्राको हत्याको घटनालाई घोर विरोध जनाउँदै भारतीय जनता पार्टीको युवा एकाईका दार्जिलिङ जिल्ला महासचिव विनय कुमार प्रसादले पक्रा परेका दोषीलाई कठोरभन्दा कठोर सजाय दिने मांग गरेका छन्। तिनले यस्तो जघन्य कार्य गर्ने व्यक्ति मानव समाजको सदस्य हुन नसक्ने जनाउँदै देशको न्याय प्रणालीमाथि आफुहरूको भरोसा रहेको औ यस्ता व्यक्तिलाई न्यायालयले पनि छोड्न नहुने बताएका छन्। महासचिव प्रसादले पिडित परिवारलाई परेको यो बज्रघातले सम्पूर्ण जाति अनि मानव समाजलाई स्तब्ध बनाएको बताउँदै भाजपा युवा मोर्चा सधैं पिडित परिवारको साथमा रहेको औ परिवार अनि मृतक बालिकाको न्यायको निम्ति सदैव तिनीहरूलाई सहयोग प्रदान गर्न कटिबद्ध रहेको कुरा जनाएका छन्। तिनले हाम्रो समाजमा यस्ता असामाजिक क्रियाकलाप तथा जघन्य घटनाहरू भइरहेकोमा चिन्ता व्यक्त गर्दै प्रशासनले यसको रोकथामको निम्ति कठोर पाइला चाल्नुपर्ने बताएका छन्। प्रसादले अदालतलाई यस घटनाको अतिशीघ्र फसेला होस् भन्दै दोषी व्यक्तिले कठोर सजाय पाउनुपर्छ ताकि भविष्यमा अरूले यस्ता दुष्कर्म गर्न अघि हजारपल्ट सोच्नु परोस् भनी जनाएका छन्। तिनले मृतक छात्राको मृत्युमा शोक पालन गर्दै शोक सन्तप्त परिवारप्रति सङ्गठनको पक्षबाट समवेदना पनि प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *