नाबालिकाको विवाह नगर्न सल्लाह दिँदा आशाकर्मीलाई कुटपिट, आशाकर्मीद्वारा विरोध प्रदर्शन तथा ज्ञापन

राजगञ्ज, 9 अप्रेल (निसं): नाबालिकाको विवाह नगर्न सल्लाह दिने आशाकर्मीलाई कुटपिट गरेको घटना सार्वजनिक भएको छ। आशाकर्मी कै घरमा कुटपिट, गाली-गलौज तथा मार्ने धम्की दिएको नाबालिकाको परिवारका सदस्यहरू विरूद्ध आरोप लगाइएको छ। यो घटना राजगञ्ज ब्लक अन्तर्गत सन्यासीकाटा ग्राम पञ्चायत क्षेत्रमा भएको हो। आज आशाकर्मीहरूले राजगञ्ज बीडीओ कार्यालय र राजगञ्ज थाना अगाडि भेला भएर विरोध प्रदर्शन गरे। यसको साथै आशाकर्मीहरूले एउटा ज्ञापन पनि बुझाए।
अभियोगकर्ता आशाकर्मी मालविका रायले बताए अनुसार, उनी सन्यासीकाटा ग्राम पञ्चायतको कालितला उप-स्वास्थ्य केन्द्रमा आशाकर्मीको रूपमा कार्यरत छन्। 6 अप्रेलको दिन उनीहरूको क्षेत्रमा एकजना नाबालिकाको विवाह हुने योजना रहेको तिनले थाहा पाइन्। त्यसपछि उनी घरमा गइन्, तर नाबालिकाको आमा-बाबु घरमा थिएनन्। अर्को दिन, नाबालिकाको पितालाई बाटोमा भेट हुँदा आशाकर्मीले नाबालिकाको विवाह नगर्नको लागि सल्लाह दिँदै युवती 18 वर्षको भएपछि मात्र, त्यही स्थानमा विवाह गर्नसक्ने कुरा बताइन्। त्यसपछि नाबालिकाको पिता त्यहाँबाट गए।
अर्को दिन, नाबालिकाको पिता र परिवारका अन्य सदस्यहरूले आशाकर्मीकै घरमा पुगेर तिनलाई कुटपिट गर्नको साथै घरमा तोडफोड गर्ने प्रयास समेत गरेको आरोप लगाइएको छ। तिनलाई बचाउन जाँदा, लोग्ने अनि परिवारका अन्य सदस्यहरूलाई समेत कुटपिट गरेको बताइएको छ।
घटनाको खबर पाउन साथ राजगञ्ज पुलिस घटनास्थलमा पुगे तर आरोपीहरू त्यहाँबाट भागेका थिए। पुलिसले घटनाको जाँच गरेपछि नाबालिकाको परिवारका दुई सदस्यलाई पक्राउ गर्यो। आज आशाकर्मीद्वारा राजगञ्ज बीडीओ कार्यालय र राजगञ्ज थानामा ज्ञापन बुझाएर सबै आरोपीहरूलाई कडा सजाय दिने माग गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *