सिलगढी : राज्यका पर्यटन मन्त्री गौतम देवले आज सिलगढीको मैनाक टुरिस्ट लजमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर नगरनिगमको चुनाउभन्दा अगावै मानिसहरूलाई जमीनको पट्टा दिइने प्रक्रिया शुरू गरेको बताए। जेनरल पट्टा दिनको लागि सर्वे शुरू गरिएको साथै अझ धेरैवटा नयाँ कोलनी बनाउने पनि तिनले घोषणा गरेका छन्। सिलगढीको अम्बिका नगर, तीनबत्ती मोड़ लगायत मालबजारमा पनि एउटा नयाँ कोलनी बनाइने भएकोले यसबारे सर्वेक्षण शुरू गरिएको जानकारी गराए। पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्रीले सिलगढी नगरनिगमको 2, 5, 20, 45 र 46 नम्बर वार्डका मानिसहरूलाई जमीनको पट्टा वितरण गरिने भएको छ। यसबाहेक सिलगढीमा मुंशी प्रेमचन्द्र कलेजको द्वितीय भवनको निर्माण गरिनेबारेमा पनि तिनले जानकारी गराए।