खरसाङ : आज खरसाङ नगरपालिका र बजारका व्यापारीहरूमाझ खरसाङ बजारलाई व्यवस्थित बनाउन महत्वपूर्ण सभा सम्पन्न गरियो। खरसाङ नगरपालिका अनि पुलिस प्रशासनमाझ गत 23 जूनको दिन एउटा संयुक्त बैठकमा खरसाङ बजारको बढ्दो भीड, फोहोर अनि साँघुरिँदै गरेको फुटपाथलाई कसरी व्यवस्था गर्ने विषयमा चर्चा भएको थियो। त्यही बैठकमा लिएको मुद्दालाई खरसाङका व्यवसायीहरुसँग विमर्श गर्न नगरपालिकाले व्यापारीहरुसँग खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सभा गऱ्यो। सभामा नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानले आजको बैठकको औचित्य अनि उद्देश्य विषय प्रकाश पार्दै हामीलाई हाम्रो खरसाङलाई राम्रो अनि सुन्दर खरसाङ बनाउनु छ तर आजको बजारको व्यवस्था हेर्दा यो उद्देश्य पूरा गर्न हामीलाई समय लाग्छ र फुटपाथमा थापिएको दोकान-पाटहरूले मानिसहरू हिड्ने बाटो पनि साँघुरिँदै गएको छ र अब यी दोकानदारहरुलाई कहाँ अनि कसरी स्थानान्तर गरेर बाटो अझ फराकिलो बनाउने अनि खरसाङलाई अझ सुन्दर कसरी बनाउने भन्ने विषयमा सबै व्यापारीहरुको सुझाउ लिनु नै यो बैठक डाकिएको हो भनी बताए।
सभामा खरसाङ थानाका आईसी नेबेन्दु सरकारले खरसाङ बजारको समस्यामाथि प्रकाश पार्दै अहिले कोभिडको महामारी समय छ तर बजारमा हेर्दा कसैलाई लाग्दैन कि हामी कोभिड महामारीसँग लडिरहेका छौं भन्दै सामाजिक दूरी कसैले अप्नाएर हिँड्दैनन्, सबैलाई ज्ञात भएको कुरा हो, खरसाङ वरिपरि मिलाएर यहाँको कोभिड संक्रमणको संख्या धेरै भएको छ र बजारमा बजार भर्न कमान बस्तीबाट पनि आउँछन्, दोस्रो फुटपाथमा थापिएको पसलको कारण मान्छेलाई हिड्नु पनि गार्हो भएको देख्दैछु साथै ट्राफिक पनि जाम हुने गर्दैछ भनी बताए। तिनले खरसाङ तपाईंको हो अनि खरसाङ बजारलाई सफा सुन्दर बनाउने दायित्व पनि तपाईंहरूकै हो भनी बताएका छन्। सभामा ट्राफिक इन्स्पेक्टर, डेपुटी म्याजिस्ट्रेट, आईसी, व्यापारीहरूको उपस्थिति रहेको थियो। व्यापारीहरूको पक्षबाट सपन राई, अजय प्रधान, फिरोज अख्तर, बिमल गुरुङले नगरपालिका सामु सुझाउ राखेका थिए। आज व्यापारीहरूको सुझाउ अनि विमर्शबाट लिइएको निर्णय विषयमा सुवास प्रधानले जानकारी गराउँदै नगरपालिका विधि विधान मुताबिक नै काम गर्ने गर्छ र नगरपालिकाले सिलगढीबाट आउने कुनै पनि व्यापारीलाई व्यापार नगर भनेर भन्नु सक्दैन न त फुटपाथबाट सारेर अर्को ठाउँ दिनु नै सक्छौं, यसको कारण के हो भने नगरपालिका भित्र राष्ट्रिय मार्ग पनि पर्छ, रेलवे लाइन पनि छ। तिनले राजनैतिक दबाउको कारण पनि अवैध दोकान सुरु भएको थियो र अब त्यो सब हामी हुनु दिँदैनौं भन्दै नगरपालिकाले के कस्तो कदम उठाउनु पर्ने हो हामी बोर्ड अफ् काउन्सिलरको सभामा निर्णय लिइनेछौं र हामीले लिएको निर्णय सबैलाई अवगत गराउनेछौं भनी बताए। नगर अध्यक्ष ब्रिगेन गुरुङले आजको सभा सकारात्मक भएकोमा खुशी प्रकट गरेका छन्।
